नाडा अटो शोको केन्द्रमा एमएडब्लू वृद्धि, ६ ब्रान्ड लिएर ७ वटा स्टलमा उपस्थिति जनाउँदै



बिजमाण्डू
२०८२ भदौ २ गते १९:४१ | Aug 18, 2025
नाडा अटो शोको केन्द्रमा एमएडब्लू वृद्धि, ६ ब्रान्ड लिएर ७ वटा स्टलमा उपस्थिति जनाउँदै

काठमाडौं। मंगलबार सुरु हुने १७औं संस्करणको ‘नाडा अटो शो’मा मोरङ अटो वर्क्स (एमएडब्लू) वृद्धि केन्द्रमा रहेको छ।व्यावसायिक यो घरानाले मात्रै नाडा अटो शोमा ६ वटा ब्रान्डका लागि ७ वटा स्टल लिएको छ।

Tata
GBIME
Nepal Life

व्यवसायीका अनुसार एउटा स्टल बनाउन कम्तिमा पनि १५ देखि २० लाख रुपैयाँ खर्च हुन्छ। त्यसबाहेक स्टलको शुल्क अलग- एउटैको १५ लाख।

नाडामा चार पाङ्ग्रेको कूल १९ वटा स्टल रहनेछन्। तीमध्ये ७ वटा एमएडब्लू वृद्धिका हुनेछन्। एमएडब्लू वृद्धि नाडा अटो शोको मूख्य प्रायोजक पनि हो।

‘गत वर्ष एमएडब्लू वृद्धि ग्रुपले सबैभन्दा धेरै बुकिङ लिएको थियो। यसपटक पनि सबैभन्दा धेरै बुकिङ लिने विश्वास छ,’ कम्पनीका कार्यकारी निर्देशक विवेक सिकरियाले भने, ‘हामीसँग ब्रान्ड र प्रोडक्टका रेन्ज धेरै छन्।’

कम्पनीले नामी, सेरेस, डिपल, फोटोन, अवतार, सोकोन जस्ता ब्रान्डका नयाँ मोडलका गाडी प्रदर्शनीमा राख्‍नेछ। साथै यामाहाको पनि उपस्थिति रहने छ।

कम्पनीले हालै डिपल एस०५ सार्वजनिक गरेको छ जसले धेरैको ध्यान खिचेको छ। नाडा अटो शोलाई लक्षित गरेर तोकिएको मूल्य ४८ लाख ९९ हजार रुपैयाँले धेरै प्रतिस्पर्धीलाई चुनौती दिएको छ।

‘यसको इन्ट्रडक्टरी प्राइसमा हामीले धेरै डिस्काउन्ट दिएका छौं। यो भनेको ग्राहकलाई गाडी किन्ने राम्रो समय हो,’ सिकरियाले भने, ‘यस्तो मूल्यमा यति एडभान्स फिचर भएका कार ग्राहकले पाउनु ठुलो कुरा हो।’

अहिले कम्पनीसँग डिपल एस०७ नयाँ मोडल, एल०७ र ई०७ पनि छन् जसप्रति पोजेटिभ रेस्पोन्स पाइन्छ। सिकरियाका अनुसार नामी०६ ‘अटो शो’मा नै लन्च हुनेछ। जसको मूल्य कति होला? कम्पनीले त्यो भने अहिले सेक्रेट राखेको छ।

यसको मूल्यले इभीको सेगमेन्टमा नयाँ तरङ्ग ल्याउने सम्भावना रहेकाले प्रतिस्पर्धी कम्पनीले पनि चासोका साथ प्रतीक्षा गरिरहेका छन्।  

डोङफेङको नामीले नेपाली बजारमा ह्याचब्याक सेगमेन्टमा इन्ट्री गरेर एक हिसाबको मार्केट बनाइसकेको छ। अब नामीको एसयूभी सेगमेन्ट आउन लागेको हो।

‘हामीसँग सबै सेगमेन्ट र प्राइस रेन्जका गाडी छन्,’ सिकरियाले भने, ‘हामीसँग भएका प्रोडक्ट बजेटको दृष्टिकोणले एकअर्कासँग क्ल्यास हुँदैन।’

उनका अनुसार आगामी दुई वर्षसम्मका लागि पाइपलाइनमा भएका प्रडक्टले बजार तताइरहने अवस्था छ। ‘हामीले जुन पनि गाडी राखेका छैनौं। जसले राम्रो र भविष्यमा सम्भावना देखिएको छ त्यसलाई मात्र प्राथमिकता दिएका छौं,’ उनले भने।

उनले भनेजस्तै अहिले बजारमा फोटोन, चांगन डिपल र डोङफेङ नामीले राम्रो प्रभाव छाडेका छन्। सेरेसको पनि २०२६ मा नयाँ मोडल आउँदैछ। त्यसले बजार तताउने सिकरियाको विश्वास छ।

सिकरियाका अनुसार पर्याप्त अध्ययन नभइ कुनै पनि नयाँ ब्रान्ड वा नयाँ मोडलको गाडी ल्याइँदैन।

‘धेरै थट प्रोसेस हुन्छ। हामी आफैं सुरुमा विश्वस्त हुनुपर्छ। त्यसपछि त्यसको टेस्ट गर्छौं। किनकि ब्रान्ड बनाउन धेरै मेहनत लाग्छ,’ उनले भने, ‘त्यसैले हामी त्यस्तो कुनै पनि कदम उठाउँदैनौं जसले ब्रान्डलाई नराम्रो गरोस्। किनभने एउटा मोडल फेल भयो भने अन्य पनि फेल हुने जोखिम रहन्छ।’

विद्युतीयका अलावा आइसी इन्जिनमा आधारित सवारीमा उत्तिकै महत्त्व दिइरहेको सिकारियाको भनाइ छ। ‘इभीलाई टफ टेरेनमा जान भौतिक पूर्वाधारले साथ दिँदैन। एप्लिकेसनहरु इभी चाहिने ठाउँमा इभी र इन्धन भेहिकल चाहिने ठाउँमा इन्धनलाई फोकस गर्ने हाम्रो स्ट्राटेजिक मुभ हुन्छ,’ उनले भने।

नाइमाले साउन २१ देखि आयोजना गरेको अटो शो सफलरुपमा सम्पन्न भयो। अहिले नाडा अटो शोले चर्चा बटुलिरहेको छ। सिकरियालाई लाग्छ बारम्बार हुने अटो शोले बजारलाई राम्रै गर्छ।

‘किनभने यसले गर्दा ग्राहकले धेरै विकल्प पाइरहेका छन्,’ उनले भने, ‘धेरै ब्रान्ड एकै ठाउँमा हुँदा म्यानेज गर्न पनि कठिन थियो। अब दुईवटा हुँदा समस्या हटेको छ। यसले सबैलाई अवसर पनि मिल्यो र सबैले राम्रो गर्न पनि पाए।’