बागलुङको कालाखोलामा पहरासहितको पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध



बिजमाण्डू
२०८२ साउन २८ गते १३:११ | Aug 13, 2025
बागलुङको कालाखोलामा पहरासहितको पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध
तस्बिर : रासस।

ढोरपाटन। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ।

Tata
GBIME
Nepal Life

वर्षाका कारण बागलुङ नगरपालिका-१३ कालाखोलामा पहिरो झर्दा करिडोर अवरुद्ध भएको छ। ५ दिन अगाडिदेखि अवरुद्ध सडक मंगलबार दिउँसो संचालनमा आएको थियो।

रातभर वर्षा भएपछि आज बिहान ९ बजे सडक माथिदेखि पहरासहितको पहिरो खस्दा करिडोर ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ।

अवरुद्ध सडक खुलाउनका लागि प्रयास गरे पनि अहिले पनि वर्षा भइरहेको हुँदा खुलाउन नसकेको प्रहरी निरीक्षक थापाले बताए। सडक अवरुद्ध भएसँगै बागलुङदेखि बुटवल, पाल्पा, भैरहवा लगायतका स्थानमा पुग्ने सवारी साधनसमेत ठप्प हुँदा यात्रु अलपत्र परेको उनको भनाइ छ।

‘कालाखोला क्षेत्रमा ठूलो पहिरो खसिरहेको छ, ५ दिन अगाडि खसेको पहिरो हिजो मात्रै खुलाएका थियौँ, आज फेरि ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ,’ प्रहरी निरीक्षक थापाले भने, ‘यातायता ठप्प हुँदा यात्रुलाई समस्या भएको छ, ठूला-ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ, कालीगण्डकी करिडोर आयोजनासँग सहकार्य गरेर खुलाउने छौँ।’ रासस