अमेरिकी अर्थतन्त्रमा ट्रम्प प्रशासनका कर नीतिको दुष्प्रभाव देखिँदै, हुन थाल्यो क्षयीकरण



बिजमाण्डू
२०८२ साउन २२ गते १६:३४ | Aug 7, 2025
अमेरिकी अर्थतन्त्रमा ट्रम्प प्रशासनका कर नीतिको दुष्प्रभाव देखिँदै, हुन थाल्यो क्षयीकरण

वासिङ्टन। राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौं देशहरूमाथि आयातमा लगाएको उच्च करको प्रभाव देखिन थालेको छ। महिनौं लामो ट्यारिफको धम्कीले अमेरिकी अर्थतन्त्रमा देखिने क्षति पुर्‍याउन थालेको हो।

Tata
GBIME
Nepal Life

मध्यरातपछि, ६० भन्दा बढी देशहरू र युरोपेली संघबाट आयात हुने सामानहरूमा १० प्रतिशत वा सोभन्दा बढी ट्यारिफ दर लागु भएको छ। युरोपेली संघ, जापान र दक्षिण कोरियाबाट आउने वस्तुहरूमा १५ प्रतिशत कर लाग्छ भने ताइवान, भियतनाम र बंगलादेशबाट आउने आयातमा २० प्रतिशत कर लाग्छ। ट्रम्पले युरोपेली संघ, जापान र दक्षिण कोरियाले अमेरिका भित्र सयौं अर्ब डलर लगानी गर्ने अपेक्षा पनि गरेका छन्।

‘मलाई लाग्छ यो वृद्धि अभूतपूर्व हुनेछ,’ ट्रम्पले बुधबार दिउँसो भने। अमेरिकाले सयौं अर्ब डलर ट्यारिफबाट उठाइरहेको बताए पनि उनले विशेष राजस्वको अंक बताउन सकेनन्। किनभने ‘हामीलाई अझै थाहा छैन अन्तिम ट्यारिफ दर कति हुन्छ।’

अनिश्चितताका बाबजुद ट्रम्प प्रशासन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रको मार्ग स्पष्ट बनाउने विश्वासमा छ। अब कम्पनीहरूले थाहा पाएका छन् अमेरिका कुन दिशामा अगाडि बढ्दैछ, प्रशासनको विश्वास छ कि तिनीहरूले नयाँ लगानी बढाउनेछन् र रोजगारी सिर्जना गरेर अमेरिकी अर्थतन्त्रलाई निर्माण शक्तिका रूपमा पुनः सन्तुलनमा ल्याउनेछन्।

तर अहिलेसम्म नयाँ करहरूको प्रभावसँग जुध्न कम्पनीहरू र उपभोक्ताहरू तयार हुँदै गर्दा अमेरिका आफैंले आफैंलाई क्षति पुर्याइरहेको संकेत देखिएको छ। तथ्यांकले देखाउँछ कि ट्रम्पले अप्रिलमा ट्यारिफ सुरू गरेपछि अमेरिकी अर्थतन्त्रमा परिवर्तन आएको थियो, जसले बजारमा नाटकीयता ल्यायो। विभिन्न मुलुकसँग वार्ताको चरण आयो। अन्ततः ट्रम्पले बिहीबारबाट विश्वव्यापी ट्यारिफ सुरू गर्ने निर्णय गरे।

तस्बिर : एपी।

अर्थतन्त्रमा क्षतिको जोखिम
डायनामिक इकोनोमिक स्ट्रयाटेजीका सीइओ जोन सिल्भियाले अर्थशास्त्रीय रिपोर्टहरूमा देखिन्छ कि अप्रिलपछि रोजगारीको वृद्धिमा कमी आएको, महँगी थोरै बढेको र प्रमुख बजारहरूमा घरको मूल्य घट्न थालेको बताए।

‘कम उत्पादनशील अर्थतन्त्रलाई कम कामदार चाहिन्छ,’ सिल्भियाले विश्लेषणमा लेखे, ‘तर यो मात्रै होइन उच्च ट्यारिफ मूल्यले कामदारको वास्तविक तलब घटाउँछ। अर्थतन्त्र कम उत्पादक बनेको छ र कम्पनीहरूले पहिले जस्तो तलब दिन सक्दैनन्। हरेक कामको परिणाम हुन्छ।’

तर यी ट्यारिफहरूको अन्तिम परिणाम अझै अज्ञात छ। यसले महिनौं वा वर्षौंसम्म असर पार्न सक्छ। धेरै अर्थशास्त्रीहरू भन्छन् कि अमेरिकी अर्थतन्त्र तत्काल ढल्ने होइन, तर विस्तारै क्षय हुन सक्ने जोखिम छ।

‘हामी सबै चाहन्छौं कि यो टेलिभिजनको दृश्य जस्तो होस् जहाँ ठूलो विस्फोट हुन्छ तर यो त्यस्तो होइन,’ जर्जटाउन विश्वविद्यालयका प्राध्यापक ब्राड जेन्सनले भने, ‘यो मेसिनको गियरमा बालुवा पारेकोजस्तो हो, जसले सबै कुरा ढिलो बनाउँछ।’

ट्रम्पले ट्यारिफलाई व्यापार घाटा घटाउने उपायका रूपमा प्रवर्द्धन गरेका छन्। तर आयातकर्ताहरूले करबाट बच्न ट्यारिफ लागू हुनु अघि नै बढी सामान आयात गर्न थाले। त्यसैले सन् २०२५ को पहिलो ६ महिनाको व्यापार घाटा ५८२.७ अर्ब डलर पुगेको छ। यो २०२४ को तुलनामा ३८ प्रतिशत बढी हो। कुल निर्माण खर्च गत वर्षको तुलनामा २.९ प्रतिशतले घटेको छ।

भारत र स्वीट्जरल्याण्डमा निराशा
बिहीबारको तयारी पनि ट्रम्पको ट्यारिफ शैली अनुसार असंगठित देखियो। ट्यारिफहरू कहिले लागू, कहिले स्थगित, कहिले बढाइने, कहिले अचानक पत्रबाट लागू हुने, अनि फेरि हतारमा पुनः वार्तामा जानुपर्ने जस्ता घटना भएको छ। यति असंगठित प्रक्रिया हुँदा प्रमुख व्यापार साझेदारहरूले पनि यो ट्यारिफ बिहीबार लाग्छ कि शुक्रबार भन्ने स्पष्ट थाहा पाएका थिएनन्। जुलाई ३१ को आदेशले अगस्ट १ बाट ट्यारिफ स्थगित गरेर ७ दिनपछि लागु हुने भनेको थियो, तर निश्चित मिति दिइएको थिएन।

बुधबार ट्रम्पले भारतले रूसी तेल किनेकै कारण २५ प्रतिशत थप ट्यारिफ घोषणा गरे, जसले भारतको कुल आयात कर ५० प्रतिशत पुर्याएको छ।

भारतका निर्यातकर्ताहरूको प्रमुख निकायले बिहीबार ‘अमेरिकामा जाने भारतका झण्डै ५५ प्रतिशत निर्यात यी ट्यारिफले असर गर्ने र निर्यातकर्ताले आफ्ना पुराना ग्राहकहरू गुमाउने’ जनाएको छ।

‘यसरी अचानक लागत बढेको अवस्था सहनै सकिने छैन। नाफा पहिल्यै थोरै छ,’ फेडेरेसन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेसनका अध्यक्ष एससी रल्हानले भने।

राष्ट्रपति करिन केलर-सुट्टर र अन्य उच्च अधिकारीहरू वासिङ्टनको असफल दौडाबाट फर्किएपछि स्वीट्जरल्याण्डको कार्यकारी निकाय फेडरल काउन्सिलले बिहीबार अपराह्न आकस्मिक बैठक राख्ने तयारी गरेको छ । ट्रम्पले स्वीट्जरल्याण्डबाट आयात हुने वस्तुहरूमा ३९ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेपछि त्यसलाई रोक्ने प्रयास विफल भएको थियो।

ट्रम्पले औषधि र चिप्समा समेत आयात कर लगाउने तयारी गरेका छन्। चिप्समा त १०० प्रतिशत कर लाग्नेछ। यसले गर्दा अमेरिकी अर्थतन्त्र एक किसिमको ‘सस्पेन्डेड एनिमेसन’मा पुग्न सक्ने खतरा रहेको विश्लेषकहरू बताउँछन्।

सेयर बजार अझै सबल
ट्रम्पले सन् १९७७ को कानुन प्रयोग गरेर ट्यारिफ लगाउन आर्थिक आपतकाल घोषणा गरेका छन्, जुन अहिले कानुनी चुनौतीको सामना गर्दैछ। गत साता अपिल अदालतमा सुनुवाइ भएको मुद्दाको निर्णयबाट ट्रम्पले कानुनी अधिकार नाघेको ठहर भएमा उनले ट्यारिफ लगाउन नयाँ आधार खोज्नु पर्नेछ।

उनको पहिलो कार्यकालमा ट्रम्पसँग काम गरेका केही व्यक्तिहरू पनि अहिले अर्थतन्त्रको अवस्था सहज नहुने चेतावनी दिँदैछन्। जस्तै पूर्व रिपब्लिकन हाउस स्पिकर पॉल रायन, जो अहिले ट्रम्पका आलोचक बनेका छन्।

‘राष्ट्रपतिले आफ्नै इच्छा र विचारमा आधारित भएर ट्यारिफ बढाउन चाहने बाहेक अरु कुनै तर्क देखिन्न,’ रायनले बुधबार सीएनबीसीसँग भने, ‘मेरो विचारमा कठिन समय आउँदैछ किनभने यसमा कानुनी चुनौतीहरू पनि आउनेछन्।’

यद्यपि, पछिल्ला ट्यारिफ विवादका बाबजुद सेयर बजार अझै सबल छ। एसएन्डपी ५०० सूचक अप्रिलको न्यून बिन्दुबाट २५ प्रतिशत माथि उक्लिएको छ। जुलाई ४ मा ट्रम्पले हस्ताक्षर गरेका कर र खर्चसम्बन्धी कानुनले पनि ह्वाइट हाउसलाई आगामी महिनाहरूमा आर्थिक वृद्धिमा आशावादी बनाएको छ।

अहिलेसम्म ट्रम्पले आर्थिक उन्नतिको भविष्य देखिरहेका छन्। बाँकी विश्व र अमेरिकीले भने अनिश्चितता आकलन गरिरहेका छन्। ‘अनिश्चितताको मूल्य तिर्न सक्ने एक्लो व्यक्ति डोनाल्ड ट्रम्प हुन्,’ द सेन्चुरी फाउन्डेसनकी वरिष्ठ अनुसन्धानकर्ता र बाइडेन प्रशासनमा श्रम नीतिमा काम गरेकी रेचल वेस्टले भनिन्, ‘बाँकी अमेरिकीहरू पहिले नै यसको मूल्य तिरिरहेका छन्।’ (एपी)