काठमाडौं। कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासले तीन जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।
अदालतको आदेशले थुनामा जानेमा बैंकका सञ्चालक राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी छन्।
नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी भुवन बस्नेत दुई लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
न्यायधीशहरु चन्द्रबहादुर सारु र पुनम सिंह चन्दको इजलासले करिब एक साताको बससपछि बुधबार आदेश जारी गरेको हो। प्रकरणमा सवा तीन अर्ब रुपैयाँ बिगो दाबी गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
मुद्दा दायर भएका सबैविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकामा राय, मिश्र लगायत ४ जना मात्र प्रहरी हिरासतमा छन्। राय जेठ १८ गते पक्राउ परेका थिए। उनी बैंक सञ्चालक समितिका पूर्वअध्यक्ष समेत हुन्। यस्तै एक महिनापछि अर्का पूर्वअध्यक्ष मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
मुद्दाका आरोपित १०५ जना फरार छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बैंकका विभिन्न समयका सञ्चालक, कर्मचारी र अन्य व्यक्तिको मिलेमतोमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित १११ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्नुपर्ने रायसहितको प्रतिवेदन साउन ८ गते जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।











