देशको आर्थिक वृद्धि र रोजगारीमा मोबिलिटी क्षेत्रको महत्त्वपूर्ण योगदान छ : नाइमा अध्यक्ष वैद्य



बिजमाण्डू
२०८२ साउन २१ गते ११:०७ | Aug 6, 2025
देशको आर्थिक वृद्धि र रोजगारीमा मोबिलिटी क्षेत्रको महत्त्वपूर्ण योगदान छ : नाइमा अध्यक्ष वैद्य

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यले मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको बताएकी छन्।

Tata
GBIME
Nepal Life

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ को उद्घाटन समारोहमा वैद्यले यो क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १२ लाख ४० हजारभन्दा बढीलाई रोजगारी दिएको र कूल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशत योगदान पुर्‍याएको बताएकी हुन्।

उनले ५५ लाखभन्दा बढी सवारी दर्ता भएको यो क्षेत्रले बिक्री, मर्मत, लजिस्टिक र पूर्वाधारलगायतका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको बताइन्। मोबिलिटीले शिक्षा, स्वास्थ्य, पर्यटन र वित्तीय सेवामा पहुँच बढाएर हजारौँलाई अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको पनि उनको भनाइ छ।

वैद्यले अटोमोबाइल उद्योगले मात्रै सर्वेक्षण गरिएका उद्योगहरूमध्ये करिब ४.७ प्रतिशत रोजगारी सिर्जना गरेको बताएकी छिन्। नेपाल न्यून उत्सर्जन सवारीतर्फ उन्मुख हुँदै गर्दा टेक्निसियन र चार्जिङ पूर्वाधारजस्ता नयाँ करिअरका अवसरहरु सिर्जना भइरहेको उनले बताइन्।

नाइमाले सीटीईभीटीसँगको सहकार्यमा दक्ष जनशक्ति विकासमा लगानी गरिरहेको जानकारी दिँदै उनले यसले नेपाली युवाका लागि समावेशी र भविष्यउन्मुख रोजगारी सुनिश्चित गर्ने विश्वास आफुहरुको रहेको पनि बताइन्।

नाइमाको स्थापना राष्ट्रको मोबिलिटीलाई चलायमान बनाउने र सवारी आयातकर्ता र निर्माताहरुको सामूहिक आवाज बन्न रहेको बताएकी छन्।

त्यसक्रममा उनले नयाँ र आधुनिक प्रदर्शनी हलको आवश्यकता रहेको भन्दै त्यसका लागि अर्थ मन्त्री विष्णु पौडेललाई आग्रह पनि गरेकी थिइन्।