
बंगलादेशको अर्थतन्त्रले आगामी चार वर्षमा मलेशिया, हङकड्ड र सिंगापुरलाई समेत माथ गर्ने हालै सार्वजनिक एक प्रतिवेदनले देखाएको छ।
'वर्ल्ड इकोनोमिक लिग टेबल २०२०' अनुसार बंगलादेशको अर्थतन्त्र विश्व आर्थिक लिग टेबलमा ४० औं स्थानबाट माथि उक्लिएर सन् २०२९ सम्ममा २६ औं स्थान तथा सन् २०३४ मा २५ औं स्थानमा उक्लिने प्रक्षेपण गरेको छ।
लिग टेबलले विश्वका १ सय ९३ देशहरुको सन् २०३५ सम्मको अवस्थाबारे प्रक्षेपण गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो। न्यून मध्यम आय भएको देश बंगलादेशको आर्थिक अवस्थाबारे सार्वजनिक गर्दै उसको अर्थतन्त्रले सन् २०१९ मा राम्रो बृद्धि हासिल गर्दै ७.८ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ। सन् २०१८ मा बंगलादेशले ७.९ प्रतिशतको बृद्धि देखेको थियो।
सन् २०१४ देखि बंगलादेशको जनसंख्या वार्षिक एक प्रतिशतका दरले बृद्धि भैरहेको छ। बंगलादेशको प्रतिव्यक्ति आय वार्षिक ५ हजार २८ डलर छ। सरकारी ऋण बढेपनि बंगलादेशको सार्वजनिक बित्त क्षेत्र भने राम्रो अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ।
सन् २०१९ मा बंगलादेशको बजेट घाटा ४.८ प्रतिशत देखिएको छ। प्रतिवेदनका अनुसार सन् २०२० देखि२०२५ को अवधिमा बंगलादेशको वार्षिक जिडिपी ग्रोथको प्रक्षेपण भने ७.३ प्रतिशत रहने छ।
' ९ वर्षको अवधिमा बंगलादेशको अर्थतन्त्र असाध्यै इम्प्रेसिभ रहनेछ। त्यसैकारण यसले वर्ल्ड इकोनोमिक लिग टेबलमा सन् २०३४ सम्ममा २५ औं स्थान बनाउने छ।' प्रतिवेदनमा भनिएको छ।
यसैगरी सन् २०३३ सम्ममा चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने पनि प्रतिवेदनमा उल्लेख छ। अमेरिकालाई समेत माथ गरेर चीन पहिलो बन्नुमा चिनियाँ प्रविधिको क्षेत्र को बृद्धिले महत्वपूर्ण योगदान दिने प्रक्षेपण गरिएको छ।
यस्तै भारतले पनि सन् २०२९६ सम्ममा जर्मनीलाई जितेर विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने बताइएको छ। सन् २०३४ सम्ममा जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ।
प्रतिवेदनले सन् २०१९ देखि २०१४ सम्म चीनको वार्षिक वृद्धिदर ५.४ प्रतिशत रहने र सन् २०२४ देखि २०२९ सम्म ५.२ प्रतिशत रहने अनुमान गरेको छ। यसैगगरी सन् २०२९ देखि २०३४ सम्म भने यो दर ४.३ प्रतिशत रहने पनि प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले सन् २०१९ देखि २०१४ सम्म भारतको वार्षिक बृद्धि दर ५.५ प्रतिशत रहने तथा सन् २०२४ देखि २०२९ सम्म ६.१ प्रतिशत रहने अनुमान गरेको छ।
यसैगरी सन् २०२९ देखि २०३४ सम्म भने यो दर वार्षिक ६.१ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ।











