नाइमा र नाडा अटो शोमा चारवटा प्रिमियम इभीबीच कडा टक्कर, यस्ता छन् प्रतिस्पर्धी गाडी



शुक्र गिरी
२०८२ साउन २० गते ०६:१० | Aug 5, 2025
नाइमा र नाडा अटो शोमा चारवटा प्रिमियम इभीबीच कडा टक्कर, यस्ता छन् प्रतिस्पर्धी गाडी

काठमाडौं । साउन २१ देखि हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो र भदौ ३ गतेदेखिका लागि तय नाडा अटो शोमा ४ वटा प्रिमियम इलेक्ट्रिक कारबीच कडा टक्कर हुने देखिएको छ।

Tata
GBIME
Nepal Life

यी दुवै अटो शोमा राखिने प्राय: सबै गाडी नेपाल भित्रिसकेकामा ४ वटा प्रिमियम इलेक्ट्रिक कारबीच प्रतिस्पर्धा हुने देखिएको हो। जसमा टाटा, बीवाइडी, महिन्द्रा र एमजी आईएम ब्रान्डका गाडी छ्न्।

यी ब्राण्डका प्रिमियम कारको फिचरमा धेरै मेहनत गरेको देखिन्छ। प्रिमियम गाडीमा एडभान्स्ड डिजाइन छ। गाडीमा सुरक्षा र लक्जरीका लागि धेरै कुरामा ध्यान दिइएको छ। आकर्षक बाहिरी डिजाइन, आरामदायी सुविधा, उच्चस्तरीय इन्टेरियरले गाडीले ग्राहकको ध्यान तान्नेमा अटो व्यवसायी विश्वस्त छन्।

अटो शोका लागि इन्ट्री लेभलदेखि मिड रेन्जका गाडी पनि आएका छन्। दुई पाङ्ग्रे, लाइट कमर्सियल र प्यासेन्जर सवारीका नयाँ ब्रान्ड र नयाँ मोडल भित्र्याउने क्रम जारी छ। दुई वटा शोमा १०० भन्दा धेरै ब्रान्डका सवारीसाधन राखिंदैछ।

तैपनि महिन्द्राको एक्सइभी ९ई, बीवाइडी सिलायन-७, एमजी आईएम-६ र टाटाको ह्यारियर इभीबीच कडा प्रतिस्पर्धा हुने देखिएको गाडी बिक्रेताहरुले बताएका छन्।

टाटाबाहेक तीन ब्रान्डका नयाँ मोडल नाइमा अटो शोबाट नेपाली बजारमा इन्ट्री गर्न लागेका हुन्। टाटाको ह्यारियर इभी भने नाडा अटो शोबाट नेपाली बजारमा भित्रिंदैछ।

४ वटै प्रिमियम इलेक्ट्रिक गाडीको फिचर र पावरट्रेन उस्तै छ। यी गाडीको मूल्य ६५ लाखदेखि १ करोड ७ लाख रुपैयाँसम्म छ।

ब्याट्री र मोटर पावर?

एमजी आईएम-६ मा ७५ किलोवाट आवरको एलएफपी ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लूएलटीपी अनुसार ४५० किलोमिटर रेन्ज दिन्छ। यसमा १०९ किलोवाटको हेरिकेन मोटर छ। यसको टर्क ४५० एनएम छ।

महिन्द्राको एक्सईभी ९ई गाडी भारतीय बजारमा नयाँ फिचर लोडेड इभीका रुपमा परिचित छ। नयाँ फिचरले भारतीय अटो बजारमा तरंग ल्याए गाडीको एउटा भेरियन्टमा १९९ किलोवाटको र अन्यमा ९९ किलोवाटको मोटर छ।

१०० किलोवाटको मोटर रहेको सिलायन-७ गाडी ४.८ मिटर लामो एसयूभी हो। गाडीमा ७१.८ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। एक पटकको फुल चार्जमा गाडीले ४४० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीले जनाएको छ।

बजार परीक्षण गर्दै प्रयोगकर्ताले रुचाउने डिजाइन ल्याउन अनुसन्धान गरिरहेको टाटाको ह्यारियर इभी प्रिमियम एसयूभी हो। यसमा ६५ र ७५ किलोवाट आवर(युनिट) क्षमताका ब्याट्री प्याक उपलब्ध छ। टाटा मोटर्सले ब्याट्री प्याकमा लाइफटाइम वारेन्टी दिने घोषणा गरेको छ।

गाडीमा १७५ किलोवाट क्षमताको मोटर पावर छ। जसले ३१५ एनएम टर्क उत्पादन गर्न सक्छ।

७५ किलोवाट आवर क्षमताको ब्याट्रीले अल ह्वील ड्राइभ संस्करणको एआरएआई एजेन्सीले प्रमाणित गरेको रेन्ज ६२२ किलोमिटर र रियल टाइम रेन्ज ४८०-५०५ किलोमिटरसम्म दिने दाबी गरिएको छ।

गाडीमा विभिन्न ड्राइभ मोड बुस्ट, स्पोर्ट्स, सिटी, इको र ६ वटा अन्य टेरेन मोड नर्मल, स्नो/ग्रास, मड-रट्स, स्यान्ड र रक क्रावल छन्। जसले विभिन्न भू-भागमा चलाउन सजिलो बनाउँछ। साथै ड्रिफ्ट मोड पनि उपलब्ध छ।

मूल्य कति?

महिन्द्रा एक्स इभी ९ईका ३ भेरियन्टको मूल्य क्रमशः ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ तोकिएको छ। यो मूल्यमा बिक्रीका बेला थपघट हुने कम्पनीले जनाएको छ।

बीवाइडीको सिलायन-७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, अर्ली बर्ड अफरका रुपमा बिक्रेता कम्पनी साइमेक्स इंकले ७२ लाख ९९ हजार रुपैयाँ मूल्य राखेको छ।

एमजी आइएम-६ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

टाटा ह्यारियर इभीको भने मूल्य तोकिएको छैन। यसको मूल्य ६५ लाखदेखि सुरु हुने अनुमान गरिएको छ।

फिचर

सिलायन-७ बीवाइडीको ‘ई-प्लेटफर्म ३.० इभो’ मा बनेको हो। जसले उच्चस्तरको इन्टिग्रेसन, स्ट्रोङ पावरट्रेन र चार्जिङ पर्फर्मेन्सलाई दर्शाउँछ।

गत वर्षको नाडा अटो शोमा डिस्प्ले गरिएको गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर उपलब्ध छ। सिलमा जस्तै यसमा हेडअप डिस्प्लेको पनि सुविधा छ।

पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल कार प्ले, ११ वटा एयरब्याग, राडर, मल्टिपल क्यामेरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, फ्रन्टररियर क्रस ट्राफिक अलर्ट, अगाडि र पछाडि क्रस ट्राफिक ब्रेक, ट्राफिक साइन रिकग्नाइजेसन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र डोर ओपन वार्निङ गाडीका फिचर हुन्।

टाटा ह्यारियर इभीमा प्यानोरामिक सनरुफ, डुअल-जोन क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, मेमोरी फङ्सनसहितको पावर-एडजस्टेबल ड्राइभर सिट र अगाडिको यात्रु सिटमा बोस मोड जस्ता सुविधा छन्।

डल्बी एटमससहितको जेबीएलको साउन्ड सिस्टम भएका १० वटा स्पिकर यसमा छन्। वायरलेस फोन चार्जर र ६५ वाट क्षमताको यूएसबी टाइप सी चार्जिङ पोर्ट पनि गाडीमा उपलब्ध छन्।

यसमा ७ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), ३६०-डिग्री क्यामेरा, रियर पार्किङ सेन्सर र टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) लगायत सुरक्षा फिचर पनि छन्।

गाडीमा लेभल-२ एडास अर्थात एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम पनि छ। यसभित्र लेन किपिङ असिस्ट, क्रूज कन्ट्रोल र फरवार्ड कोलिजन सिस्टम, अटो पार्क असिस्ट लगायत सुविधा छन्।

एमजी आइएम-६ गाडीमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स छ। यो अहिले नेपाली बजारमा उपलब्ध अन्य गाडीभन्दा लामो छ। आइएम-६ गाडी ४.९ मिटर लम्बाईको हो। यो गाडी आइएम डिजिटल च्यासिसमा उत्पादन गरिएको हो।

गाडीमा फोरह्वील स्टेरिङ सिस्टम छ जसले गर्दा ट्रनिङ रेडियस राम्रो हुन्छ। साथै ग्राब मोड पनि छ। गाडीमा फ्युचरस्टिक एआइ फिचर उपलब्ध छ।

महिन्द्रा एक्सइभी ९ई गाडीमा २० वटा स्पिकर छन्। जसले साउन्डलाई रियलस्टिक बनाउँछ। वान टच एआइ चौफर सिस्टम पनि छ। जसले गाडी अटोमेटिक रुपमा पार्क, ब्याक जस्ता सबै कुरा गर्न सजिलो बनाउँछ। रेनि नाइट मोडमा क्लियर भिजन प्रदान गर्न क्यामेरा र सेन्सर उपलब्ध छ।

फाइभ राडर्स र १२ अल्ट्रासोनिक सेन्सर एडास सेफ्टी फिचर उपलब्ध छ। यसलाई अहिले भएका इभीहरूको भन्दा एडभान्स्ड सेफ्टी फिचर मानिएको छ।

महिन्द्राले आफ्नो रेसिङ ट्रयाकमा गाडीको पावर र पर्फर्मेन्स परीक्षण गरेकामा त्यसको भिडियो भाइरल छ। जसमा एउटा स्पिड टेस्ट छ भने अर्को एडास सेफ्टी फिचरले कसरी काम गर्छ भन्ने देखाउन खोजिएको छ।

ड्राइभरको ध्यान अन्यत्र गएको अवस्थामा अलर्ट गराउनका लागि ड्यासमा एआई क्यामेरा राखिएको छ। गाडीमा ७ वटा एयर ब्याग राखिएका छन्। दुर्घटना हुँदा अगाडि, साइड र पछाडि सबैतिर एयरब्याग खुला हुन्छ।

एआईमा आधारित ड्राइभ एण्ड अकुपेन्ट मोनिटरिङ सिस्टमलगायत धेरै नयाँ फिचर गाडीमा उपलब्ध छन्। यस्तो फिचर भएको इभी कार भारतमा अहिलेसम्म कुनै पनि ब्रान्डले उत्पादन गरेका छैनन्।

अटो होल्ड फङ्सन पनि गाडीमा उपलब्ध छ। जसले कार उकालो ओरालो वा ट्राफिक जाममा परेका बेला ह्यान्ड ब्रेकको काम गर्छ। ट्रयाक्सन कन्ट्रोलले अफ रोडमा गाडी कन्ट्रोलमा सहयोग पुग्छ।