काठमाडौं। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)की प्रमुख कार्यकारी अधिकृत प्रविण पाण्डकलाई भेट्न बुधबार लगानीकर्ताको भिड लाग्यो।
कम्पनीको सेयर सूचीकरणमा दुईवटा इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन) लागू गर्ने निर्णयको विरोधमा उर्जा उत्पादकहरुको संस्था इप्पानले विज्ञप्ति निकालेपछि सर्वसाधारण सेयरधनी पाण्डकलाई भेट्न पुतलीसडकस्थित सीडीएससीको कार्यालय पुगेका थिए।
प्राय: सेयर दलाल कम्पनीका कार्यालय पुतलीसडक आसपास रहेकाले त्यो ठाउँलाई पुँजीबजारका लगानीकर्ता ‘ब्रोकर स्ट्रिट’का रुपमा लिन्छन्। पुतलीसडक हुँदै लगानीकर्ताको बाक्लै ओहोरदोहोर हुन्छ।
कुनै संगठनको ब्यानर नबोकी स्वतन्त्र हिसाबले पाण्डकलाई भेट्न पुगेका लगानीकर्ताहरु भन्दै थिए- म्याडम खुट्टा कमाउनु होला, यो नम्बर त जसरी पनि लागू हुनै पर्छ।
पाण्डक पनि भन्दै थिइन्- यो व्यवस्था हामी जागिरेका लागि होइन नि, लगानीकर्ताकै हितका लागि लागू गर्न खोजेका हौंं। गलत हिसाबले हुने कारोबार रोक्न यो व्यवस्थाले मद्दत गर्छ।

‘लकइन अवधिभित्रै पनि झुक्याएर सेयर बिक्री नहोस्, संस्थापकले सर्वसाधारण भनेर सेयर बेच्न नपाउन् भनेर नै नयाँ व्यवस्था लागु गर्ने निर्णय गरिएको हो,’ सीडीएससीकी प्रमुख कार्यकारी अधिकृत पाण्डकले बिजमाण्डूसँग भनिन्, ‘यसले बजारमा फर्जी कारोबारलाई रोक्छ।’
सर्वसाधारण सेयरधनीले सीडीएसीको निर्णयको समर्थन गरिरहँदा ऊर्जा कम्पनीका संस्थापक लगानीकर्ताले विरोध गरिरहेका छन्।
संस्थापक र साधारण सेयरको फरक-फरक आइजीन हुनुपर्ने निर्णयपछि संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण हुने प्रक्रिया रोकिएको छ। ‘सेयर कारोबार हुँदा संस्थापक र सर्वसाधारण छुट्टियोस् भनेर हामीले आइजीनको कुरा गरेका हौं,’ पाण्डकले भनिन्।
सीडीएससीको निर्णयपछि आइपीओ निष्कासन गरेर सूचीकरण हुने नयाँ कम्पनीको संस्थापक सेयरको अभौतिकीकरण अहिले रोकिएको छ।
सीडीएससीले संस्थापक र साधारण सेयरको छुट्टाछुट्टै आइजीन लागू गर्न सञ्चालक समितिबाट निर्णय गरी नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रस्ताव पठाएपछि कम्पनीका संस्थापक सेयरधनीलाई तरंगित बनाएको हो।
सेबोनले स्वीकृति दिएपछि सीडीएससीले आइपीओ निष्कासन गरेर सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनी हुँदै सबै कम्पनीको संस्थापक र साधारण सेयरमा दुईथरी आइजीन लागू गर्नेछ। त्यसो हुँदा संस्थापक सेयरलाई साधारण भनेर बिक्री गर्न रोकिने सीडीएससीको दाबी छ।

सीडीएससीले फरक फरक आइजीन लागू गर्न निर्देशिका बनाएर स्वीकृतिका लागि सेबोनमा पठाएपछि कम्पनीका संस्थापक सेयरधनीले पुँजीबजार नै संकटमा पर्नेसम्मको चेतावनीसहित वक्तव्य निकालेका छन्।
‘संस्थापक सेयर लगानीकर्ताहरुको संख्या बढिरहेका बेला छुट्टाछुट्टै आइजीनको प्रस्तावले संस्थागत लगानीमा ठूलो गिरावट आउनेछ,’ इप्पानले विज्ञप्ति निकालेर भनेको छ, ‘यो व्यवस्थाले आइपीओ जारी गरी सेयर अभौतिकरण प्रक्रियामा रहेका कम्पनी, आइपीओ जारी गरी लकइन अवधि सकिन लागेका कम्पनी र आईपीओको पाइपलाइनमा रहेका कम्पनीसमेत नराम्ररी प्रभावित भई समग्र पुँजीबजारलाई दीर्घकालसम्म मात्र नकारात्मक प्रभाव पार्दैन, नेपालको अर्थतन्त्रमै असर पर्ने निश्चित छ।’
सीडीएससीले कम्पनीको सेयर अन्तर्राष्ट्रियरुपमा पहिचानका लागि प्रयोग गरिने कोड नम्बर उपलब्ध गराउँछ। अहिले बैंक तथा वित्तीय संस्थाका कम्पनीको संस्थापक र साधारण सेयर फरक-फरक आइजीनमार्फत अभौतिकीकरण गरिएको छ।
यसबाहेक बजारमा सूचीकृत अन्य कम्पनीको संस्थापक र सर्वसाधारण सेयर एउटै आइजीनमार्फत अभौतिकीकरण गरिएको छ। एउटै आइजीनको कम्पनीको सेयरमध्ये संस्थापक सेयर गणना गरेर लक गरिएको हुन्छ।
लकइन अवधिमा संस्थापक र आरक्षितबाहेक साधारण सेयर कारोबारमा आउँछ। कम्पनीको तीन वर्षे लकइन सकिएपछि संस्थापक र आरक्षित सेयर पनि साधारण सरह उही आइजीनमार्फत दोस्रो बजारमा कारोबारमा आउँछ।
तर, सीडीएससीले फरक-फकर आइजीन लागू गर्न खोजेपछि यो विषय अर्थ मन्त्रालयसम्म पुगेको छ।
इमर्जिङ नेपालबाट सुरु भएको विवाद
इमर्जिङ नेपालले संस्थापक सेयरको लकइन अवधि सकिन दुई महिनाअघि नै २०८१ पुसमा कम्पनीको स्क्रिप्ट कोड र आइजीन एउटै लागू गर्न नेप्सलाई पत्र पठायो।
त्यसपछि नेप्सले इमर्जिङ नेपालको लकइन अवधि सकिएपछि २०८१ फागुन ४ गतेदेखि नेप्से स्टक सिम्बल नम्बर एउटै लागू गर्यो। तर, सीडीएससीले सेबोनको स्वीकृति आवश्यक पर्ने भन्दै संस्थापक र साधारण सेयरको दुईवटा आइजीनलाई एउटै कायम गर्न मानेन।
सीडीएससीले एउटै आइजीन लागू नगरेपछि फागुन ३ गते लकइन अवधि सकिएको इमर्जिङ नेपालको संस्थापक सेयर कारोबारमा आएको छैन।
कम्पनीको लकइन फागुन पहिलो साता सकिए पनि ५ महिनासम्म संस्थापक सेयरधनीले किनबेच नै गर्न पाएका छैनन्। सीडीएससीले कम्पनीको एउटै आइजीन कायम गर्न नमानेपछि इमर्जिङ नेपालले चैतमा सेबोनलाई गुहार्यो।
सेबोनले वैशाख ३ गते ‘धितोपत्र सम्बन्धी कानुनी व्यवस्था’ अनुसार गर्न भन्दै सीडीएससीलाई निर्देशन दियो। तर, सीडीएससीले कम्पनीको आइजीन एउटै लागू गर्न चाहेन।
नेप्सेले साउन २ गते सेयरको लकइन सकिएको अवस्थामा छुट्टाछुट्टै कारोबार संकेत नम्बर आवश्यक नपर्ने भन्दै एउटै लागू गरिएको भन्दै सोही अनुसार गर्न पत्र पठायो।
तर, सीडीएसीले कम्पनीको आइजीन मिलाउने कानुन नभएको र यस विषयमा सञ्चालक समितिमा प्रस्ताव पेस गर्न लागेको भन्दै प्रक्रिया अगाडि बढाउन मानेन।
कम्पनीको संस्थापक र साधारण सेयरको पुरानै आइजीन रहेकाले संस्थापकको सेयर सोही अनुसार गर्न सकिने जवाफ इमर्जिङ नेपालाई पठायो।
‘अभौतिकीकरणका लागि दर्ता गरी संस्थापक र सर्वसाधारण सेयरका लागि प्रदान गरिएका दुईवटा आइजीनमध्ये संस्थापक सेयरका लागि प्रदान गरिएको आइजीनलाई लकइन अवधि समाप्त भएपश्चात सर्वसाधारण सेयरको आइजीनमा मिसाइ दिनका लागि अनुरोध भएको साथै नेपाल स्टक एक्सचेन्जको पत्रबाट संस्थापक सेयर खरिद बिक्री रोक्का अवधि समाप्त भएपश्चात फरकफरक आवश्यक नरहेकोले एउटै कारोबार संकेत नम्बर इएनएल कायम गरिएको भनि जानकारी प्राप्त भएको,’ सीडीएसीले नेप्सेको पत्र उदृत गर्दै इमर्जिङ नेपाललाई भन्यो, ‘आइजीन मिलाउनका लागि कानुन नभएको सन्दर्भमा तहाँको अनुरोध बमोजिम कानुन बनाउन संचालक समितिमा पेस भएको। साथै नेपाल धितोपत्र बोर्डको पत्रमार्फत प्रचलित धितोपत्र सम्बन्धी कानुनी व्यवस्था अनुसार गर्न गराउन र आइजीन प्रदान गर्ने सम्बन्धमा प्रचलित व्यवस्था तथा प्रचलित असल अभ्यास अनुरुप गर्न भनी निर्देशन भएको।’
इमर्जिङ नेपालको सेयर सूचीकरणमा दुईवटा आइजीन दिने विषयमा नेप्से र सीडीएससीले एकअर्कालाई देखाइरहेका छन्। त्यतिबेला नेप्से र सीडीएसको गल्तीका कारण दुईवटा आइजीन दिइएको तर अहिले एउटै बनाउन सीडीएससीले नमानेका कारण इमर्जिङ नेपालको संस्थापक सेयर बन्धक बनेको छ।
सीडीएससीले कम्पनीको सेयर कारोबार र संस्थापक सेयरमा अनावश्यक बखेडा गरेको इमर्जीङ नेपालको आरोप छ।
‘सीडीएससीका कारण कम्पनीको लकइन अवधि सकिएको ५ महिनासम्म संस्थापक सेयर कारोबार हुन पाएको छैन। लकइन पिरियड सकिसकेको कम्पनीको सेयरलाई अब कानुन ल्याएर यस्तो गर्छु भन्ने कुरा सुहाउँदैन,’ इमर्जिङ नेपालका सीइओ विशाल उप्रेतीले भने, ‘अरु सबै कम्पनीको एउटै आइजीन नम्बरमा कारोबार भइरहेको छ। यस्तो लफडा सीडीएससीले किन ल्यायो? बुझ्नै सकिएन।’
चन्द्रागिरि हिल्स र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको पनि यसअघि दुईवटा आइजीन रहेकामा सीडीएसीले पछि एउटै लागू गरेको थियो।

‘कम्पनीको आइजीन फरक फरक वा एकै बनाउने विषयमा कुनै कानुनी व्यवस्था नभएकाले त्यसलाई व्यवस्थित बनाउन खोजेका छौं,’ सीडीएससीका अध्यक्ष समेत रहेका नेप्सेका सीइओ चुडामणि चापागाईंले भने, ‘त्यसैले निर्देशिकाको मस्यौदा तयार पारेर सेबोनमा पठाएका छौं। अब सेबोनले अन्तर्राष्ट्रिय अभ्यास हेरेर स्वीकृत गर्ला।’
विज्ञहरु भने कम्पनीको आइजीनको विषयमा सीडीएससीले ‘नन् इस्यु’ लाई उठाएर हंगामा गरेको बताउँछन्।
‘आइजीन पब्लिक र प्रमोटर सेयर छुट्याउनका लागि प्रयोग हुने नै होइन। यो विषयमा किन हंगामा मच्याउने काम भयो? थाहा छैन। अन्तर्राष्ट्रियरुपमा पब्लिक सेयरलाई छुट्टै र प्रमोटरलाई छुट्टै बनाउन यस्तो आइजीन दिने भन्ने कुरा नै हुँदैन,’ सेबोनका पूर्वकार्यकारी निर्देशक निरज गिरीले भने, ‘हिजोका मितिसम्म कुनै विवाद थिएन। यसमा अब सेबोनले इन्टरभेन्सन गर्नुपर्छ।’
सेबोनले यस विषयमा सञ्चालक समितिमा छलफल गरेर टुंगोमा पुग्ने बताएको छ। ‘सीडीएससीले निर्देशिकाको मस्यौदा बनाएर स्वीकृतिका लागि पठाएको छ। बोर्डले छलफल गरेर टुंग्याएपछि कार्यान्वयन हुन्छ। आइजीन प्राविधिक विषय भएकाले छलफल गरेरै टुंगिएला,’ सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले भने।











