ल्हेन्दे खोलामा आएको बाढीका कारण स्याफ्रुबेँसी-रसुवागढी सडक पुनः अवरुद्ध



बिजमाण्डू
२०८२ साउन १४ गते १२:५७ | Jul 30, 2025
ल्हेन्दे खोलामा आएको बाढीका कारण स्याफ्रुबेँसी-रसुवागढी सडक पुनः अवरुद्ध

रसुवा। नेपाल-चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा क्षति पुर्‍याएको छ। बन्द सडक खुलाउन काम सुरु भइसकेको जनाइएको छ।

Tata
GBIME
Nepal Life

ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको छ।

नदी कटानले सडकमार्ग क्षति भएका कारण साना ठूला सबै प्रकारका सवारीसाधनको आवतजावत टिमुरे खण्डमा पूर्ण रूपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

जिल्ला विपद् व्यवस्थापनका अध्यक्ष समेत रहेका पौडेलले चिनियाँ भू-भागमा भारी वर्षा भइरहेका कारण पटक-पटक आउने बाढीप्रति पूर्वसावधानी अपनाउँदै नदी किनारको तटीय क्षेत्रमा बसोबास नर्गन जिल्लावासीलाई आग्रह समेत गरे।

गए रातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएको समेत प्रजिअ पौडेलले जानकारी दिए। ल्हेन्दे खोलाको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै छ भन्ने जानकारी गए रातिनै तटीय क्षेत्रमा जानकारी गराइएको थियो। रासस