रसियामा ८.६ रिक्टर स्केलको शक्तिशाली भूकम्प, अमेरिका र जापानमा सुनामीको चेतावनी



बिजमाण्डू
२०८२ साउन १४ गते ०७:२५ | Jul 30, 2025
रसियामा ८.६ रिक्टर स्केलको शक्तिशाली भूकम्प, अमेरिका र जापानमा सुनामीको चेतावनी

रसियाको सुदूरपूर्वी क्षेत्र कामचट्का प्रायद्वीप नजिक शक्तिशाली भूकम्प गएको छ। उक्त क्षेत्रमा ८.६ रिक्टर स्केलको भूकम्प मापन गरिएको छ।

Tata
GBIME
Nepal Life

यो भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकी, जापानी र वरपरका अन्य देशका तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ।

कामचट्का प्रान्तका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा भिडियो सन्देश जारी गरेर यो भूकम्प दशकमै सबैभन्दा ठूलो भएको बताएका छन्। उनले प्राथमिक जानकारीका आधारमा मानविय क्षति नभएको बताए। तर, एउटा बालबालिका पढ्ने बिद्यालय (किण्डरगार्टेन) भने क्षतिग्रस्त भएको उनले जनाएका छन्।

यूएस जियोलोजिकल सर्भेका अनुसार यो भूकम्पको गहिराइ जमिनको सतहबाट १९.३ किलोमिटर छ। भूकम्पको केन्द्रविन्दु कामचट्का प्रायद्वीपको पेट्रोपाभ्लोभ्स्क-कामचात्स्की नामको सहरबाट १२५ किलोमिटर पूर्व-दक्षिणपूर्वतर्फ छ।

यो सहरको जनसंख्या करिब १ लाख ६५ हजार छ र उक्त सहर अवाचा खाडीको किनारमा छ। सुरुमा यस भूकम्प ८.० मापन गरिएको भए पनि पछि संशोधन गरी ८.६ राखिएको हो।

भूकम्पपछि सखालिन प्रान्तका गभर्नर भालेरी लिमारेन्कोले दक्षिणतर्फ रहेको सानो सहर सेभेरो-कुरिल्स्कका बासिन्दालाई सुनामीको जोखिमका कारण तत्काल स्थानान्तरण गर्न आदेश दिएका छन्।

रसियाको आपतकालीन सेवा मन्त्रालयको कामचट्का शाखाले टेलिग्राममा जनाएअनुसार करिब ३२ सेन्टिमिटर अर्थात १ फिट उचाइको सुनामीको छाल कामचट्का किनारमा पुग्न सक्छ।

जापान मौसम एजेन्सीले करिब १ मिटर अर्थात ३.३ फिटसम्मको सुनामीको छाल आउन सक्ने जनाएको छ। जापानका ठूलो समुद्री किनार क्षेत्रमा असर पार्न सक्ने एजेन्सीले बताएको छ।

अमेरिकी सुनामी चेतावनी प्रणालीले पनि ३ घण्टाभित्र रसिया र जापानका केही तटीय क्षेत्रमा खतरनाक सुनामी आउन सक्ने चेतावनी दिएको छ। यससँगै अमेरिकाको ग्वाम टापु र माइक्रोनेसियाका अन्य टापुका लागि पनि सतर्कता जारी गरिएको छ।

कामचट्का र रसियाको टाढा पूर्वी क्षेत्र प्रशान्तको ‘रिङ अफ फायर’ अर्थात आगोको घेरामा पर्दछ। यो भूगर्भीय रूपमा अत्यन्त सक्रिय क्षेत्र हो जहाँ ठूला भूकम्प र ज्वालामुखी विस्फोट बारम्बार हुने गर्छन्।