भारतको पूर्णियामा निर्माणाधीन विमानस्थलको उद्घाटनको तयारी, बागडोगरा र दरभंगाको विकल्प



अनन्तराज न्यौपाने
२०८२ साउन १३ गते १८:१२ | Jul 29, 2025
भारतको पूर्णियामा निर्माणाधीन विमानस्थलको उद्घाटनको तयारी, बागडोगरा र दरभंगाको विकल्प

विराटनगर । पूर्वको एक मुख्य नाका विराटनगरबाट ९० किलोमिटर दक्षिणको भारतीय सहर पूर्णियामा निर्माणाधीन विमानस्थलको उद्घाटन यही साउन ३० भित्र हुने तयारी गरिँदैछ। भारतीय संचारमाध्यमहरुले विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै यही साउन ३० भित्र उदघाटनको तयारी भइरहेको जनाएका हुन्।

Tata
GBIME
Nepal Life

हाल पूर्वको काँकडभिट्टाबाट २२ किलोमिटर पूर्वमा रहेको पश्चिम बंगालस्थित बागडोगरा र विराटनगरबाट १६५ किलोमिटर दक्षिणमा रहेको विहारको दरभंगामा विमानस्थल संचालनमा छन्।

अब पूर्वका नाकाबाट जहाजमा भारत जाने यात्रुलाई बागडोगरा र दरभंगाका विकल्पमा पूर्णिया विमानस्थल पनि हुनेछ।

विराटनगर नाकाबाट बागडोगरा र दरभंगा पुग्न ४ घण्टा लाग्छ भने पूर्णिया डेढ घण्टामै पुगिन्छ। बिहारका सांसद पप्पु यादवले पूर्वोत्तर बिहारका जनताले ३० वर्षदेखि देखिरहेको सपना पूरा हुन लागेको बताएका छन्।

भारतीय संचारमाध्यममा सांसद यादवले यही साउन ३० भित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पूर्णिया ल्याएर विमानस्थलको उद्घाटन गराउने जानकारी दिएका छन्।

यादवका अनुसार उद्घाटनको केही दिनभित्रै यहाँबाट भारतका ४ मुख्य सहर नयाँ दिल्ली, मुम्बई, बैंगलुरु र हैदरावादमा उडान सुरु हुनेछ।

भारतको एक निजी विमान कम्पनी इन्डिगोले पूर्णियाबाट ४ मुख्य सहरमा उडान भर्ने निर्णय गरिसकेको र यसका लागि कम्पनीले स्थलगत निरीक्षण तथा सम्भाव्यता अध्ययन पनि पूरा गरेको उनको भनाइ छ।

यादवले पूर्णिया विमानस्थल संचालनमा आएपछि छिमेकी मुलुक नेपालसहित भारतका विहार, पश्चिम बंगाल र झारखण्ड राज्यका जनतालाई ठुलो सुविधा पुग्ने बताएका छन्।

हाल इटहरी–काँकडभिट्टा सडक विस्तारको क्रममा धेरै ठाउँ भत्काइएको हुँदा बागडोगरा पुग्ने यात्रुले सास्ती पाइरहेका छन्। यसका कारण हिजोआज पूर्वका यात्रीहरू बागडोगरा पुग्न जोगबनीको बाटो पक्रिरहेका छन्। त्यस्तै, विराटनगरबाट दरभंगा पुग्न ४ घण्टा लाग्छ। त्यसैले पूर्वी नेपालका अधिकांश यात्रीलाई दरभंगा र बागडोगराभन्दा ९० मिनट समय लाग्ने पूर्णिया उत्तम विकल्पका रूपमा स्थापित हुनेछ।

जोगबनी रेल वे स्टेसनबाट पूर्णियासम्म दैनिक ९ वटा रेलसेवा छन् भने दरभंगा पुग्ने रेल एउटा मात्र छ।

एअरपोर्ट्स अथोरिटी अफ इन्डिया (एएआई) का अनुसार पूर्णिया विमानस्थलमा भारु ४४ करोडका लागतमा टर्मिनल भवनको निर्माण भइसकेको छ। सांसद् यादवले साउन ३० गतेभित्र उदघाटन भइसक्ने भनी गरेको दाबीबारे भने एएआईले केही बोलेको छैन।

सांसद यादवले आफूले एएआईका पूर्वी क्षेत्रका महाप्रबन्धक र क्षेत्रीय कार्यकारी निर्देशक सहितका अधिकारीसँग बैठक गरेको र साउन ३० भित्र उद्घाटन गर्ने लक्ष्य राखेको जानकारी दिए।

पूर्वका व्यवसायीले पूर्णिया विमानस्थलमा भइरहेको उदघाटनको तयारीप्रति खुशी व्यक्त गरेका छन्।

नेउवा महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पूर्णिया विमानस्थलको संचालनबाट पूर्वी नेपालका यात्रुले भारतका मुख्य सहर पुग्न ठुलो सुविधा पाउने बताए।

‘व्यावसायिक बैठकका लागि हामी भारतमा मुख्य सहरमा गइरहनुपर्छ। यसका लागि दरभंगा र बागडोगराभन्दा नजिकको विमानस्थल हामीले पाउने भएका छौं। यसले हाम्रो समयको वचतका साथै यात्रा पनि सहज हुनेछ’, अध्यक्ष राउतले भने।