काठमाडौं। नेपाल प्रहरीले पुरानै प्रक्रियामा हतियार खरिद गर्ने कुनै योजना नभएको प्रष्ट पारेको छ।
आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआइजी विनोद घिमिरेले ३ वर्ष अगाडि रोकिएको पुरानै प्रक्रियामा हतियार खरिद गर्ने योजना नभएको स्पष्ट पारेका हुन्।
३ वर्ष अगाडि डेढ अर्ब बराबरको हतियार खरिद गर्ने विषयमा प्रहरी महानिरीक्षक दीपक थापा विवादित बनेका थिए। विवादास्पद कम्पनीलाई खरिदको जिम्मा दिएपछि उनी आलोचित भएका थिए।
उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पुरानो टेन्डरबाट हतियार खरिद नगर्न सुझाव दिएको थियो।
हाल नयाँ प्रक्रियाबाट बजेटमा छुट्टाएअनुसार हतियार खरिद गर्न लागिएको प्रवक्ता डीआइजी घिमिरेले बताए।
‘अहिले नयाँ आर्थिक वर्षलाई बजेट आएको छ। विधि तथा कानुनी प्रक्रिया अनुसार अगाडि बढ्छ,’ घिमिरेले भने।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा हतियार खरिदका लागि १ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको छ।











