विराटनगर। विराटनगरको सेन्चुरी प्लाईले नेपालमै पहिलो पटक दुई नयाँ भेराइटीका प्लाइउड बजारमा ल्याएको छ। पाँच वर्षदेखि प्लाइउडको उत्पादन र निर्यात गरिरहेको सेन्चुरीले ‘गर्जनउड’ ब्रान्डमा अग्निप्रतिरोधी (फायर रिटर्डेन्ट प्लाई) र गन्धरहित (जिरो एम्बिसन प्लाई) गरी २ प्रकारका प्लाइउड बजारमा ल्याएको हो।
उद्योगका उत्पादनले नेपाल गुणस्तर चिह्न (एनएस) र भारतको बीआइएस (आइएसआई) दुवै पाएका छन्। सेन्चुरीका निर्देशक विकास तोदी अग्रवालले शनिबार लन्च मिटमा नेपालमा पहिलो पटक अग्निप्रतिरोधी र गन्धरहित प्लाइउड उत्पादन गरेर बजारमा ल्याएको जानकारी दिए।
उनका अनुसार अग्निप्रतिरोधी प्लाइउडलाई लगातार ४५ मिनटसम्म आगोले डढाउन सक्तैन। यसमा आगोको लप्काले भेट्यो भने ४५ मिनटसम्म धुवाँ मात्र निस्कन्छ। त्यस अवधिसम्म आगोको व्यवस्थापन गरेन भने मात्र आगो सल्कन्छ र बल्न थाल्छ।
तोदीले हिजोआज कुनै पनि भवन वा संरचनामा लागेको आगो ४५ मिनटभित्र व्यवस्थापन गर्न सकिने अवस्था रहेको बताए। ४५ मिनटको अवधिमा भवनका अन्य स्थानमा आगोले नोक्सानी गरे पनि प्लाइउडलाई केही गर्न नसक्ने दाबी उनले गरे।
‘अन्तर्राष्ट्रिय स्तरका र उच्च गुण भएका केमिकलको प्रयोग गरेर अग्निप्रतिरोधी प्लाइउडको उत्पादन गरिएको हो,’ उनले भने। गत पुस महिनामा अमेरिकाको लस एन्जलसमा आगलागीको ठूलो घटना भएको थियो, जसमा २७० अर्ब डलर बराबरको क्षति र २४ जनाको मृत्यु भएको थियो। उक्त घटनाको दृष्टान्त दिँदै उनले भने ‘त्यहाँ अधिकांश घर प्लाइउडबाटै बनाइएका थिए। यदि अग्निप्रतिरोधी प्लाइउड प्रयोग गरिएको भए यति धेरै क्षति नहुन सक्थ्यो।’
उद्योगी तोदीले फायर रिटर्डेन्ट प्लाइउड आगोबाट मात्र नभई पानीबाट पनि सुरक्षित रहेको स्पष्ट पारे। ‘यो प्लाइउड पानीबाट पनि सुरक्षित अर्थात् वाटरप्रुफ छ। पानीबाट यसको स्वरूपमा परिवर्तन हुँदैन र सड्दा पनि सड्दैन,’ उनले सुनाए। यस प्रकारको प्लाइउडबाट होटल, हस्पिटल, बैंक, कार्यालयदेखि निजी घरका समेत संरचना निर्माण गर्नु उपयुक्त हुने उनले प्रष्ट पारे।
सेन्चुरीको अर्को उत्पादन गन्धरहित प्लाइउड (जिरो एम्बिसन प्लाई) मानव स्वास्थ्यका लागि अत्यन्त उपयोगी हुने उद्योगले जनाएको छ। उद्योगी तोदीका अनुसार अन्य प्लाइउडमा फर्मल डिहाइड्रेट नामको कडा गन्ध भएको केमिकल प्रयोग गरिन्छ। यस्तो केमिकल प्रयोग गरिएको प्लाइउडले बर्सौंसम्म गन्ध फ्याँकिरहन्छ। यस्तो गन्धले एलर्जी गराउने तथा मानव स्वास्थ्यलाई अन्य विभिन्न हानि पुग्ने हुन्छ। जसले गर्दा बालबालिका, भारी जिउका महिला, इम्युनिटी कमजोर भएका मानिस र अन्य विभिन्न प्रकारका रोगीलाई थप स्वास्थ्यसमस्या आउन सक्छ। उद्योगी तोदीले अमेरिका लगायतका विकसित मुलुकले मानव स्वास्थ्य र पर्यावरणलाई ख्याल गर्दै इ-जिरो प्लाईलाई अनिवार्य गरेको बताए।
‘हाम्रो देशमा पनि महिला र बालबालिकाको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै कम्तीमा पनि स्कुल, कलेज, स्त्री तथा प्रसूति रोगका हस्पिटल, चाइल्ड केयर सेन्टर र बालबालिका भेला हुने स्थानमा यस्तो प्लाईलाई अनिवार्य गर्नु उपयुक्त हुन्छ,’ उनको सुझाव छ।

उद्योगका अर्का निर्देशक गोपाल तोदीले फायर रिटर्डेन्ट र ई-जिरो दुवै प्रकारका प्लाइउड अत्याधुनिक मेसिनबाट उत्पादन गरिने हुँदा यसको मोटाइ (थिकनेस) एकनासको हुने उल्लेख गरे। सेन्चुरी प्लाईले नेपालमै पहिलो पटक अत्याधुनिक क्यालिब्रेटर मेसिनबाट एकनासको मोटाइ भएको प्लाइउड उत्पादन गरिरहेको जानकारी उनले दिए।
‘हाम्रो उत्पादन ६ एमएमको छ भनेपछि ५.९९ पनि हुँदैन र ६.०१ एमएम पनि हुँदैन। तलदेखि माथिसम्म सबैतिर समान ६ एमएम मात्र हुन्छ। अहिलेका विकसित मुलुकको मापदण्ड पनि यही हो,’ गोपालले सुनाए। उनले फायर रिटर्डेन्ट र जिरो एम्बिसन दुबै प्रकारका प्लाइउड ६, १०, १२, १९ र २५ एमएम गरी ५ प्रकारका थिकनेसमा उत्पादन गरिरहेको बताए।
गोपालका अनुसार भारतीय सहरबाट दुवै प्रकारका प्लाइउडको अत्यधिक माग आइरहेको छ। सेन्चुरीले भारतको विहार, उत्तर प्रदेश, नयाँ दिल्ली, राजस्थान, मध्य प्रदेश, महाराष्ट्र, गुजरात, ओडिसा र पश्चिम बंगाल लगायतका राज्यमा प्लाइउडको निर्यात गरिरहेको छ।
‘उपभोक्ताको मागअनुसारको गुणस्तरीय उत्पादन दिनसक्ने हो भने बजारको खाँचो नपर्ने रहेछ भन्ने अनुभव हामीले गरिरहेका छौं। दुवै प्रकारका प्लाईको माग धमाधम आइरहेको छ,’ उनले भने। उद्योगका उत्पादनलाई विश्वका अन्य कुनै पनि उत्पादनसित प्रतिस्पर्धा गर्नसक्ने बनाउने उद्देश्यका साथ काम भइरहेको उनले स्पष्ट पारे।
सेन्चुरी प्लाईले नेपालका सबै मुख्य सहरका एक सय वटा डिलरमार्फत् आफ्ना उत्पादन विक्रीवितरण गरिरहेको जनाएको छ। उक्त कार्यक्रममा सेन्चुरी प्लाईले आफ्ना उत्पादनको प्रयोग गर्ने सिकर्मीका लागि सिद्धार्थ इन्स्योरेन्समार्फत् एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा, विराटनगर नर्सिङ होममा १५ प्रतिशत सम्मको उपचार छुट र प्रत्येक सिकर्मीलाई महिनामा दुई वटा सिनेमा टिकट दिने घोषणा गरिएको थियो। जसअनुसार सिद्धार्थ इन्सोरेन्सका सुशील अटल र विराट नर्सिङका रक्षित तापडियाले एमओयुमा हस्ताक्षर गरेका छन्।











