काठमाडौं । पाँच तारे ‘होटल सेफ्रन सीके’ ले भवन स्तरोन्नति गर्ने भएको छ। कम्पनीले होटलको भवनको तल्ला थप गर्दै अन्य संरचना निर्माण गर्न लागेको हो।
बुटवलको रुपन्देहीमा रहेको होटलको पुरानै भवनमा दुई तल्ला थप निर्माण गरिने भएको हो। त्यहाँ २८ वटा कोठा निर्माण हुनेछ। यसअघि होटलमा ८१ कोठामा १३० शय्या रहेको थियो।
होटलमा नयाँ संरचनाहरु निर्माणका लागि कूल लागत करिब साढे २ अर्ब रहेको होटलका प्रबन्ध निर्देशक राजेश खनालले जानकारी दिए।
उनका अनुसार थप संरचनामा रेष्टुरेन्ट, स्वीमिङ पुल, कन्फरेन्स र बैंक्वेट हल, स्पा र अन्य सुविधा हुनेछन्।
साथै, ‘होटल सेफ्रन सीके’ ले स्तरोन्नतीका लागि वातावरणीय प्रभाव मूल्यांकन पनि गराएको छ।
सफ्रोन सीकेले होटल व्यवस्थापनको जिम्मा हयात इन्टरनेशनल साउथ वेस्ट एसियालाई दिएको छ। यस कम्पनीले हयात होटल कर्पोरेशनसँग सहकार्य गर्दै ‘हयात रेन्सी’ ब्राण्ड अन्तर्गत होटल सेवा संचालन गर्नेछ।











