खानेपानीसम्बन्धी समस्या समाधान गर्दै नागरिकको जीवनस्तर सुधार्नमा केन्द्रित छौँ : मन्त्री यादव



बिजमाण्डू
२०८२ साउन ३ गते १९:१८ | Jul 19, 2025
खानेपानीसम्बन्धी समस्या समाधान गर्दै नागरिकको जीवनस्तर सुधार्नमा केन्द्रित छौँ : मन्त्री यादव
तस्बिर : रासस

इटहरी। खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीसम्बन्धी समस्या समाधन गर्दै नागरिकको जीवनस्तर सुधार्न वर्तमान सरकार केन्द्रित रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

आज ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’को उद्घाटन गर्दै उनले झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गरे। उनले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे।

नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरुन् भन्ने सरकारको स्पष्ट उद्देश्य रहेको बताउँदै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्‍याउने रहेको उल्लेख गरे।

उनले भने, ‘देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख लक्ष्य हो।’

मन्त्री यादवले देशका सबै समुदायलाई समान सेवा पुर्‍याउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताए। खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकता पूरा गर्ने, सेवाउन्मुख सामाजिक मन्त्रालय भएकाले नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने उद्देश्यले योजनाबद्ध काम भइरहेका उनले जानकारी दिए।

‘हाम्रो सक्रियता र स्पष्ट परिकल्पना अनुरूप खानेपानी विभागको वित्तीय प्रगतिले ९० प्रतिशत उपलब्धि हासिल गरेको छ। यो हाम्रो कार्यसम्पादन क्षमताको दिगो सुधारको स्पष्ट प्रमाण हो,’ मन्त्री यादवले भने।

आज उद्घाटन गरिएको खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका-१, २, ३, र ५ का ४ हजार ३१ परिवारका करिब २२ हजार ७८७ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरीका प्रमुख महेसी महतोले जानकारी दिए। उनका अनुसार यो आयोजनाले स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चिततामार्फत नागरिकको स्वास्थ्य र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्य राखेको छ। रासस