ओलीले अब आरजुका आमाछोराको पालो हो भनेर कांग्रेसलाई तर्साइरहनुभएको छ : वर्षमान



बिजमाण्डू
२०८२ साउन ३ गते १५:५६ | Jul 19, 2025
ओलीले अब आरजुका आमाछोराको पालो हो भनेर कांग्रेसलाई तर्साइरहनुभएको छ : वर्षमान

काठमाडौं। पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको आरोप लगाएका छन्। पार्टी सम्बद्ध गोरखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिको भएको टिप्पणी गरे।

Tata
GBIME
Nepal Life

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको शृंखला कांग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेर टुंगिने दाबी उनको थियो। सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको आरोप पुनले लगाए।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत सबैले बुझेको उनको भनाइ थियो। उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी पनि पुनले गरे।

‘ओलीजीले विरोधीलाई ठेगान लगाउने नाममा अरु दलका मूल नेतृत्वमाथि मुद्दामामिला लगाउने पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति लिनुभएको छ। रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइदिने। एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने। राजेन्द्र लिङदेनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने। माधव नेपाललाई मुद्दा लगाएर एकीकृत समाजवादी आफूमा गाभ्ने। उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने,’ पुनले भने, ‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चलमलाउन थाल्यो भने उहाँले कुनै केही न केही नाममा आरजु राणालाई मुद्दालगाउने तयारी गर्नुभएको छ। उहाँले अब आरजुका आमाछोराको पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको दाबी पुनले गरे। आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउन सकिन्छ कि भनेर ओलीले एक वर्षअघि नै प्रयास गरेको पनि पुनले बताए।

‘जब सीआइबी, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट केही पनि भेटिएन, सकिँदैन भनेपछि धेरै पहिला कुनै बेला उहाँका पीए बसेका विकेश श्रेष्ठमार्फत तान्न सकिन्छ कि भनेर शेरा दरबारतिर लाग्नुभयो, यो कुरा पुष्टि नै भइसकेको छ,’ पुनले भने।

प्रचण्डले शेरा दरबारबाट सुरु गरेर यती, ओम्नी, वाइडबडी, बालुवाटार र गिरिबन्धुसहित सबै प्रकरणको छानबिन गर्नुपर्ने बताएपछि ओली चुप लागेको उनको भनाइ थियो। आफूहरुले नेकपाकालमा ओलीसँग तीन वर्ष सँगै काम गरेको र उनको तरिकासँग परिचित रहेको पुनले बताए।

ओलीको एकाधिकारवादी निरंकुश र स्वेच्छाचारी प्रवृत्तिबारे आफूहरुलाई थाहा भएरै उनीविरुद्ध आफूहरुले लडिरहेको पनि पुनले उल्लेख गरे। ‘सबै एमाले होइन, ओलीको झण्डामुनि रहेको दक्षिणपन्थी र एकाधिकारवादी सानो गिरोहविरुद्ध हामी लडिरहेका छौं। केही गल्ती नगरेका कारण हामी डराएका छैनौं। अरु पार्टीमा जसरी माओवादीमा ओलीजीले भाँडभैलो मच्चाउने, तोडफोड गर्न सक्नुहुन्न,’ उनले भने।

पुनले ओली सरकारको एक वर्ष त्यसै खेर गएको बताए। सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमा बितेको आरोप उनको छ। ‘केपी ओली नेतृत्वको सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमै बितेको छ। भ्रष्टाचारका एकपछि अर्को काण्ड थपिएको छ,’ पुनले भने, ‘भर्खरै घूस मागेका एक मन्त्रीले राजीनामा दिए। अर्काको फेरि घूस डिल गरेको अडियो सार्वजनिक भएको छ। एक वर्षमा सरकारले बिचौलिया पोस्ने कामबाहेक केही गरेको छैन।’