अर्थतन्त्रमा योगदान दिने ३० उद्योगी व्यवसायीलाई सरकारले गर्‍यो सम्मान, पाउनेछन् यस्ता सुविधा



बिजमाण्डू
२०८२ असार ३२ गते १९:२८ | Jul 16, 2025
अर्थतन्त्रमा योगदान दिने ३० उद्योगी व्यवसायीलाई सरकारले गर्‍यो सम्मान, पाउनेछन् यस्ता सुविधा

काठमाडौं। सरकारले अर्थतन्त्रमा योगदान दिएका ३० जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति(सीआइपी) सम्मान गरेको छ।

Tata
GBIME
Nepal Life

सरकारले विभिन्न उत्पादन तथा सेवामूलक उद्योगबाट वर्षभरिमा धेरै वैदेशिक मुद्रा भित्र्याउने उद्योगी व्यवसायीलाई सम्मान गरेको हो।

यसबाहेक उद्योग, निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान गरेबापत नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललाई पनि सीआइपी सम्मान प्रदान गरिएको छ।

यस्तै सरकारले नेपाल हस्तकला महासंघ, निर्यात व्यवसायी महासंघ, नेपाल छुर्पी व्यवसायी संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघलाई पनि सम्मान गरेको छ।

तेस्रो मुलुकमा सबैभन्दा बढी निकासी गर्ने ऊनी गलैंचाबाट थर्ड आई इन्टरनेसनल सम्मानित भएको छ।

नेपाल फेसन प्रालि तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निकासी गरेका कारण सम्मानित भएको छ।

नेसनल एक्सपोर्ट प्रालिले एनी फेल्टका सामान तेस्रो मुलुकमा धेरै निकासी गरेर सीआइपी पाएको छ। मनराम हिमालयन ह्याण्डीक्राफ्टले तेस्रो मुलुकमा धेरै छुर्पी निकासी गरेको छ भने ट्राइकोट इन्डस्ट्रिजले सबैभन्दा बढी पश्मिना निकासी गरेको छ।

भारततर्फ सबैभन्दा बढी सामान निकासी गर्नेमा डाबर नेपाल पहिलो नम्बरमा छ। डाबर नेपालले विभिन्न प्रकारका जुस, चेबनप्रास र टुथपेस्ट उत्पादन गर्छ।

त्यस्तै दोस्रो धेरै निकासी गर्नेमा आरती स्ट्रिप छ। यो उद्योगले जस्तापाता उत्पादन गर्छ। धागो उत्पादन गर्ने रिलायन्स स्पिनिङ मिल्सले भारत धेरै निकासी गर्ने तेस्रो स्थानमा रहँदै सीआइपी सम्मान पाएको छ। चीनमा सबैभन्दा बढी सामान निकासी गर्ने छोमेन ट्रेडर्स सीआइपीबाट सम्मानित भएको छ।

फिन्जो सोनाम इन्टरप्राइजेज चीन निकासी गर्नेमा दोस्रो र अष्टमंगल तेस्रो भएका छन्। नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका सामान निकासी गरेर धेरै वैदेशिक मुद्रा भित्र्याउने गिफ्टल्याण्ड इन्टरप्राइजेज पनि सम्मानित भएको छ।

सरकारले कृषिजन्य वस्तु र जडीबुटी क्षेत्रतर्फ सबैभन्दा बढी निकासी गर्ने नेपाल एभरेष्ट कार्डमम प्रडक्सन र हर्बल ट्रेडर्स एण्ड सप्लायर्सलाई सम्मान गरेको छ। निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी निकासी गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिजकी संचालक परेकी छन्।

बैंकिङ प्रणालीमार्फत सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनी आइएमईले सीआइपी सम्मान पाएको छ।

सरकारले सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने होटलको रुपमा एभरेष्ट हस्पिटालिटीलाई सीआइपीबाट सम्मान गरेको छ।

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा एक अर्ब वा सो भन्दा बढी रकम बराबरको सामान निकासी गर्ने द सांग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङलाई सीआइपी सम्मान प्रदान गरिएको छ।

सरकारले चार करोड वा सो भन्दा बढी रकमको सामान निकासी गर्ने स्टार्टअप कम्पनीतर्फ माइण्डफूल क्राफ्टलाई सीआइपी दिएको छ।

सीआइपी सम्मान पाउनेलाई त्रिभुवन विमानस्थलमा छुट्टै लाउन्ज व्यवस्था गरिएको हुन्छ। डेडिकेटेड लाउन्ज हुने भएकाले उनीहरुलाई अध्यागमनमा समेत सहज हुन्छ। सिंहदरबारभित्र छिर्न पनि रोकतोक हुँदैन।