धरहरा खुल्ने समय ६ घण्टा बढाइयो, साउन १ बाट बिहान ८ देखि बेलुकी ८ बजेसम्म



बिजमाण्डू
२०८२ असार ३१ गते १६:२२ | Jul 15, 2025
धरहरा खुल्ने समय ६ घण्टा बढाइयो, साउन १ बाट बिहान ८ देखि बेलुकी ८ बजेसम्म

काठमाडौं। धरहरा खुल्ने समय दैनिक ६ घण्टा बढाइएको छ। साउन १ बाट बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ।

Tata
GBIME
Nepal Life

धरहरा अहिले बिहान १० देखि अपराह्न चार बजेसम्म मात्र खोल्ने गरिएको छ। सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइने शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए।

‘अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं। धरहरा घुम्न चाहनेहरुका लागि सार्वजनिक विदाको दिन पनि अब खुला रहनेछ,’ मैनालीले भने।

पुनर्निर्माणपछि धरहरा गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई खुला गरिएको थियो। धरहरामा प्रवेशका लागि शुल्क तिर्नुपर्छ। साढे ७ महिनामा २ लाख ३७ हजार ६५ जनाले धरहरा चढेका छन्।

शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)ले धरहरामा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ उठेको जनाएको छ।

झापाको दमकस्थित बिजनेश कम्प्लेक्स पनि साउन १ गतेबाट सर्वसाधारणका लागि खुला हुने मन्त्रालयले जनाएको छ। डेढ अर्ब रुपैयाँको यो कम्प्लेक्स अहिले प्रयोगविहीन छ।