ज्ञानेन्द्र शाहीले संसद्‍मा ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु’ भनेपछि…



बिजमाण्डू
२०८२ असार ३१ गते १४:१५ | Jul 15, 2025
ज्ञानेन्द्र शाहीले संसद्‍मा ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु’ भनेपछि…
ज्ञानबहादुर शाही

काठमाडौं। सत्तारुढ नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीको अभिव्यक्ति संसद्‍को रेकर्डबाट हटाउन माग गरेको छ।

Tata
GBIME
Nepal Life

प्रतिनिधि सभाको मंगलबारको बैठकमा राप्रपाका सांसद शाहीले ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु’ भनेपछि एमालेकी सचेतक सुनिता बरालले नियमापत्ति जनाउँदै ती शब्द रेकर्डबाट हटाउन माग गरेकी हुन्।

शाहीले भ्रष्टाचारको मामिलामा वर्तमान सरकारले गिनिज बुकमा नाम लेखाउने काम गरेको बताएका थिए।

‘नेपाल सगरमाथाको देश, भगवन गौतम बुद्धको देश, अब भ्रष्टाचारीहरुको पनि देश हो भनेर तपाइँहरु गिनिज बुकमा नाम लेखाउनुस्,’ उनले भने, ‘ज्ञान नपाए काँसी जानु, न्याय नपाए गोर्खा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु।’

शाहीले घुस डिल गरेको अडियो बाहिरिएको प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर उन्मुक्ति नपाउने भन्दै तत्काल पक्राउ गरेर थुन्न माग गरे।

शाहीले बोलिरहँदा नियमापत्ति गर्न खोजेकी बराललाई सभामुख देवराज घिमिरेले शाहीले बोलिसकेपछि मात्र समय दिए। बरालले सरकारको नेतृत्वमाथि गलत आरोप लगाइएको बताइन्।

‘पूर्ववक्ता माननीयले जसरी सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीको नामै उल्लेख गरेर संगीन आरोप लगाउनुभयो। यो विषयमा हाम्रो दलको गम्भीर ध्याषकर्षण भएको छ। यो विषय रेकर्डबाट हटाइनुपर्छ,’ उनले भनिन्।