ओलीले मुस्ताङका जनप्रतिनिधिसामु भने- कोरला नाका पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी छ



बिजमाण्डू
२०८२ असार ३१ गते ११:५९ | Jul 15, 2025
ओलीले मुस्ताङका जनप्रतिनिधिसामु भने- कोरला नाका पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी छ
मुस्ताङका जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओलीसँग

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचनासहित मुस्ताङको कोरला नाका पूर्णरुपमा सञ्चालनको तयारी भइरहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले प्रधानमन्त्री निवास बालुुवाटार पुगेका मुुस्ताङका जनप्रतिनिधिसँग कोरला नाका पूर्णरुपमा सञ्चालनका लागि आफूले निर्देशन दिइसकेको बताए।

चीनसँगको मुख्य व्यापारिक नाका असार २४ गतेको बाढीका कारण बन्द भएलगत्तै आफूले वैकल्पिक मार्गका रुपमा कोरला नाका सञ्चालनका लागि निर्देशन दिएको ओलीले मुस्ताङका जनप्रतिनिधिसामु बताए।

जनप्रतिनिधिहरुले कोरला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन कालीगण्डकी करिडोरको कागबेनी–कोरला सडकखण्ड कालोपत्र गर्न, नाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा पोष्ट, सुक्खा बन्दरगाहलगायत भौतिक पूर्वाधार निर्माण गर्न ओलीको ध्यानाकर्षण गराए।

कागबेनी–कोरला सडकखण्ड ९७ किलोमिटर कालोपत्रका लागि ठेक्का लगाउन बाँकी छ।

उनीहरुले मुस्ताङको माथिल्लो भेगका लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड गाउँपालिकालाई सरकारले निषेधित क्षेत्र घोषणा गरी प्रति विदेशी पर्यटक ५०० अमेरिकी डलर शुल्क तोक्दा पर्यटक घटेको भन्दै शुल्क घटाउन माग गरेको ओलीको सचिवालयले जनाएको छ।

सडक र नाका पूर्णरुपमा सञ्चालन नहुँदा तथा निषेधित क्षेत्रका कारण माथिल्लो मुस्ताङका होटल तथा स्थानीय व्यवसायी मारमा परेको गुनासो जनप्रतिनिधिले गरे।