ईयूले अमेरिकामाथि लगाउन लागेको महसुल फेरि स्थगित, वार्ताका लागि कोसिस गर्ने निर्णय



बिजमाण्डू
२०८२ असार ३० गते ०८:५४ | Jul 14, 2025
ईयूले अमेरिकामाथि लगाउन लागेको महसुल फेरि स्थगित, वार्ताका लागि कोसिस गर्ने निर्णय
तस्बिर : एपी

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डर लायनले अमेरिकाविरुद्धको प्रतिकारात्मक भन्सार महसुलको कार्यान्वयनमा पुनः स्थगित गरिएको घोषणा गरेकी छन्। पत्रकार सम्मेलनमार्फत आइतबार उनले उक्त जानकारी दिएकी हुन्

Tata
GBIME
Nepal Life

यो महसुल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आलुमिनियममा लगाएको प्रारम्भिक आयात करको जवाफमा युरोपेली युनियन (ईयू)ले घोषणा गरेएको थियो। अमेरिकी सामानहरूमा करिब २१ अर्ब युरो बराबरको असर पर्ने यी प्रतिकारात्मक महसुलहरू मंगलबारदेखि लागू हुने तय भएको थियो।

तर, मार्चमा पहिलोपटक स्थगित गरिएको यो महसुल अब अगस्टसम्मका लागि पुनः स्थगित गरिएको आयोग अध्यक्षले स्पष्ट पारिन्।

पत्रकार सम्मेलनमा उनले भनिन्, ‘अमेरिकाले हामीलाई पत्र पठाएको छ, जसमा केही उपायहरू उल्लेख छन्। ती उपायहरू वार्ताबाट समाधान नभए लागू हुने उल्लेख गरिएको छ। त्यसैले हामीले पनि हाम्रो प्रतिकारात्मक शुल्कहरूलाई अगस्टको सुरुसम्म स्थगित गर्ने निर्णय गरेका छौं।’

उनले थप भनिन्, ‘हामी आफ्नो रणनीतिहरूको तयारी जारी राख्नेछौं ताकि आवश्यकता परे पूर्ण रूपमा तयार रहन सकियोस्।’

उनका अनुसार ईयू सधैँ वार्ताबाट समाधान खोज्न प्राथमिकता दिने पक्षमा रहेको छ र यो नीति अझै यथावत् रहनेछ।

अब ईयूका व्यापारमन्त्रीहरू सोमबार ब्रसेल्समा भेट गरी अमेरिकालाई कस्तो जवाफ दिने भन्ने विषयमा छलफल गर्नेछन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी अगस्ट १ देखि ईयूबाट गरिने आयातमा ३० प्रतिशत महसुल लगाउने तयारी गरिरहेको बताएका छन्। उनले ईयूले यदि प्रतिकार स्वरूप महसुल लगाउने निर्णय गरेमा आफू ३० प्रतिशतभन्दा बढी महसुल लगाएर झन् कडा जवाफ दिने चेतावनी दिएका छन्।

शनिबार राति प्रशारित फक्स न्यूजसँगको पूर्व रेकर्ड गरिएको अन्तर्वार्तामा ट्रम्पले ‘धेरै देश अहिले निकै रिसाएको’ तर महसुलका कारण ‘सयौं अर्ब डलर’ अमेरिकामा भित्रिएको दाबी पनि गरे।

जर्मनीका अर्थमन्त्री लार्स क्लिङबाइलले आइतबार अमेरिका र ईयूबीच ‘गम्भीर र समाधानमुखी’ वार्ता अझै आवश्यक रहेको बताएका छन्। तर, वार्ता असफल भएमा ईयूले ‘निश्चित र ठोस कदमहरू’ चाल्नुपर्ने उनको भनाइ छ।

क्लिङबाइलले जर्मन अखबारसँग भनेका छन्, ‘हाम्रो हात अझै सहकार्यका लागि खुला छ तर हामी जे पनि स्वीकार गर्नेछैनौं।’

फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोंले शनिबार युरोपेली आयोगलाई युरोपका हितहरू ‘दृढतापूर्वक रक्षा गर्न’ आग्रह गरेका थिए।

शनिबारसम्म अमेरिकी प्रशासनले २४ देश र २७ देश सम्मिलित ईयूविरुद्ध महसुल प्रस्ताव गरिसकेको छ।

१२ अप्रिलमा ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नाभारोले ९० दिनमा ९० वटा सम्झौता गर्ने लक्ष्य तय गरेका थिए।

हालसम्म राष्ट्रपति ट्रम्पले बेलायत र भियतनामसँग दुईवटा प्रारम्भिक सम्झौताको घोषणा गरेका छन् भने अन्य देशहरूसँग वार्ता जारी छ।