साढे ७ महिनामा २ लाख ६२ हजारले चढे धरहरा, ४ करोडभन्दा बढी राजस्व संकलन



बिजमाण्डू
२०८२ असार २७ गते १३:०० | Jul 11, 2025
साढे ७ महिनामा २ लाख ६२ हजारले चढे धरहरा, ४ करोडभन्दा बढी राजस्व संकलन

काठमाडौं। विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति गरेपछि पुनः निर्माण भएर संचालनमा ल्याइएको ऐतिहासिक धरहराबाट ४ करोड ८३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ।

Tata
GBIME
Nepal Life

गत मंसिर ९ गतेदेखि शुल्कसहित संचालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा ४ करोड ८३ लाख ६५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको अन्तरिम धरहरा संचालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए।

उनका अनुसार यस अवधिमा २ लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन्। जसमा एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन्। हप्ताको एक दिन बुधबारबाहेक अन्य दिन दैनिक करिब १ हजार २०० ले धरहरा चढ्ने गरेका छन्।

‘बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ। छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो। समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन,’ व्यवस्थापन एकाइ प्रमुख राईले भने, ‘बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक १ हजार ५०० बढीले धरहरा चढ्ने अनुमान छ।’

धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ।

विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा संचालनमा आएको हो। त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो।

यहाँ पार्किङ गर्दा ४ पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र २ पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ। यस्तै, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा ५ हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ। रासस