स्वर्णिमलाई बजगाईंको जवाफ: लगानीकर्ता आईपीओ जारी गरेर भाग्दैछन् भन्नु राष्ट्रद्रोही अभिव्यक्ति



बिजमाण्डू
२०८२ असार २६ गते २१:३१ | Jul 10, 2025
स्वर्णिमलाई बजगाईंको जवाफ: लगानीकर्ता आईपीओ जारी गरेर भाग्दैछन् भन्नु राष्ट्रद्रोही अभिव्यक्ति

काठमाडौं। होटल व्यवसायी र जलविद्युत लगानीकर्ता आईपीओ जारी गर्दै देशबाट भाग्दैछन् भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेको टिप्पणीमा कांग्रेस सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाएका छन्। वाग्लेले बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा सो टिप्पणी गरेका थिए।

Tata
GBIME
Nepal Life

वाग्लेको भनाईलाई काउन्टर गर्दै बजगाईंले अभिव्यक्ति राष्ट्रद्रोही भएको टिप्पणी गरेका हुन्। अभिव्यक्तिबाट जनमतमा भ्रम र राष्ट्रलाई कमजोर तुल्याउने प्रयास गरेको बजगाईंको आरोप छ।

सबै कम्पनी इमानदार नभएको बताउँदै नियमन आवश्यक रहेको बजगाईंको भनाई छ।

बजगाईंले पुँजी र तरलताबिचको भिन्नतालाई स्पष्ट बुझ्नुपर्ने बताए। लगानीकर्तालाई बाहिरिनबाट फर्काउन र पुनः वितरण गर्न सक्षम बनाउनुपर्ने उनले बताए।

निजी क्षेत्रलाई अगाडि बढाउन सरकारले नियन्त्रण नभई नियामक बनेर सहजीकरण गर्नुपर्ने उनको धारणा छ। नेपाल स्टक एक्सचेन्जलाई आधुनिक, स्वतन्त्र र राजनीतिक हस्तक्षेपबाट मुक्त संस्था बनाउनुपर्नेमा बजगाईंको जोड छ।

उनले भने, ‘हाम्रो आर्थिक मेरुदण्ड विशेष गरी आतिथ्य र जलविद्युत क्षेत्रहरू लचिलो, सशक्त हुनुपर्छ, प्रतिबन्धित हुनुहुँदैन। यी क्षेत्रहरू रोजगारी सिर्जना गर्छन्, निर्यात बढाउँछन्, विदेशी मुद्रा ल्याउँछन्, र दीर्घकालीन आर्थिक आत्मनिर्भरता निर्माण गर्छन्। तात्कालिक बजार उतारचढावलाई कारण देखाएर पुँजी बजार बन्द गर्नु त राजमार्ग दुर्घटनाको बहानाले सडक बन्द गरेजस्तै हो। हामीलाई नियन्त्रण होइन, सुदृढता र सुधार चाहिन्छ।’

होटल जलविद्युत् अर्थतन्त्रको मेरुदण्ड भएको उनले बताए।