काठमाडौं । भोटेकोशीमा आएको बाढीले भौतिक र मानवीय क्षति सँगै व्यवसायिक क्षति समेत गरेको छ। व्यवसायीले चाडपर्व लक्षित गरेर आयात गरेका कच्चा पर्दाथ र तयारी सामानमा बाढीमा बगेका छन्।
नेपाल र चिनियाँ भन्सारमा कति सामान क्षति पुग्यो भन्ने तथ्यांक आएको छैन। तर, अधिकांश सामानमा क्षति पुग्दा व्यवसायी मर्कामा परेका छन्। अझ ती सामानको बीमा नहुँदा उनीहरुले ठूलो नोक्सानी ब्यहोर्नुपर्ने देखिएको छ।
बाढीले रसुवा भन्सारबाट धेरै कन्टेनरहरु बगाएको छ। एउटा कन्टेनरमा एक करोड रुपैयाँभन्दा बढीको सामान हुने गरेको भन्सार कार्यालयले जनाएको छ। बाढीले २४ वटा मालवाहक कन्टेनर पूर्णरुपमा क्षति भएको छ।
पछिल्लो समय दुई उत्तरी नाकामध्ये सबै भन्दा धेरै सामान रसुवा नाकाबाटै आउने गरेको थियो। तातोपानी भन्दा रसुवा नाका भरपर्दो भएकोले यो नाकामा बढी सामान आयात हुन्थो। तातोपानी नाकाबाट सामान आयात गर्दा ड्राइपोटसम्म आइपुग्दाको बीमा हुन्छ। रसुवा केरुङमा भने त्यस्तो व्यवस्था छैन।
चिनियाँ व्यवसायीले केरुङ भन्सारसम्ममात्र बीमाको जिम्मा लिने गर्छन्। त्यसयता केरुङ भन्सारबाट रसुवा भन्सारसम्मको करिब ३२ किलोमिटरको दुरीमा सामानको बीमा हुँदैन। यसैकारण अहिले धेरै नेपाली व्यापारीले नोक्सानीको भार बोक्नु परेको छ।
व्यवसायीहरुले केरुङ पुगेका आफ्नो सामानको बीमा नभएको बताएका छन्। सामान ढुवानी गर्ने ‘क्यारिङ’ले जोखिम नहुने भन्दै सामानको बीमा नगरेको र व्यवसायीले पनि त्यसलाई सहज रुपमा लिँदा अहिलेको परिस्थिति सिर्जना भएको व्यवसायी बताउँछन्। जसकारण अहिले न ‘क्यारिङ’ क्षति ब्यहोर्ने पक्षमा छ न त व्यसायी नै।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले बाढीले बगाएको र डुबानमा परेको सामानको बीमा नभएको बताए। संघका अनुसार विभिन्न सामान र इभी गाडी गरेर दुई अर्ब भन्दा बढी सामानको क्षति भएको छ।
‘नेपाली सीमामा सामान धनीले नै बीमा गर्नुपर्ने हो। अहिले कसरी क्षतिपूर्ति पाउने अन्योल भइरहेको छ। अर्बौंको नोक्सानी भएको भनिएको छ। क्षतिको तथ्यांक अहिलेसम्म आएको छैन,’ उनले भने।
रसुवा भन्दासमा ५० जनाभन्दा बढी व्यवसायीको सामानमा क्षति पुगेको प्रारम्भिक अनुमान छ। यद्यपि, बाढीपछि केही संख्यामा मात्रै व्यवसायीहरुले संघमा जानकारी गराएका छन्।
‘धेरै व्यवसायी आएकै छैनन्। सामानको बीमा नभएकोले कसैबाट केही नहुने भन्दै केही व्यवसायी यति क्षति भयो भनेर भन्न आएका छैनन्,’ उनले भने,’ केही संघसस्था र व्यवसायी आएर सामानको क्षतिपूर्तिको लागि सरकार सगँ पहल गर्न भनिरहेका छन्। राज्यले व्यवसायीको मर्का बुझे दिए हुन्थ्यो।’
किन भएन बीमा
सामान ढुवानीको लागि चीनबाट नेपालको दुरी छोटो भएकोले ‘क्यारिङ’ले सामानको बीमा नगरेको सुगन इम्पेक्सका संचालक चुडामणी पौडेलले बताए।
‘छोटो दुरी भएकोले धेरैले बीमानै गर्दैनन्। बिहान केरुङमा लोड गरेर बेलुका रसुवा भन्सारमा सामान आइपुग्ने भएकोले धेरैले बीमा नगरेका हुन्,’ उनले भने, ‘एउटै कन्टेनरमा धेरै जनाको थोरै थोरै सामान हुन्छ। एउटै कन्टेनरमा सामान ल्याउँदा मात्रै बीमा गर्ने गरेको पाइएको छ।’
रसुवा केरुङ नाकाको कन्टेनर संचालक कमल थापाले पनि उत्तरी नाकाको केरुङ र रसुवा भन्सार बीचको बाटोमा बीमाको व्यवस्था नभएको बताए।
‘दक्षिण नाका जस्तो बैंकमा एलसी खोलेर सामान ल्याउने सिस्टम छैन। कन्टेनरले केरुङ गएर सामान ल्याएपछि मात्र भन्सारमा प्रज्ञापन बन्ने गरेको छ। चीनको सीमासम्म बीमा नहुेने भएको नेपाल तर्फपनि बीमा नभएको हो,’ उनले भने, ‘३२ किलोमिटरको बाटोमा अहिलेसम्म ठूलो क्षति नभएकोले बीमा गर्नुपर्ने अवस्था आएको थिएन ।अहिले आधा घण्टामै यति ठुलो क्षति भएको छ।यो बाढीले गर्दा आगामी दिनमा बीमाको सिस्टम बनाउनु पर्ने भएको छ।’

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले केरुङ भन्सारसम्म सामानको बीमा चिनियाँ व्यवसायीले गर्ने गरेको र त्यस यता लागेपछि रसुवा भन्सारसम्म सामानको बीमा नहुने बताए।
‘यहि बीमा नहुने ठाउँमै बाढी आएको हो। कतिपयले कन्टेनरहरु बिहान भन्सार पास गर्नका लागि बसेका थिए। बीमा नहुँदा व्यवसायीलाई ठुलो घाटा भएको छ,’ श्रेष्ठले भने।
श्रेष्ठले अब यो कमजोरी सुधार्ने अवसर भएको बताए।
यता नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीले व्यवसायीले बर्खा लागेपछि बीमा गर्ने नगरेको बताए।
‘जोखिम हुने क्षेत्रमा बीमा गर्नुपर्ने बानी छैन। बीमानै नहुने भन्ने कुनै प्रावधान छैन्। यो व्यक्तिगत सम्पत्ति हो भने व्यक्तिले नै बीमा गर्ने हो,’ उनले भने।










