एसिया कपको नजिकै पुगेर नेपालको ‘हार्टब्रेक’ : नयाँ प्याट्रनमा खेल, दबाबमा सम्हालिन सकस



मुकुन्द घिमिरे
२०८२ असार २२ गते १५:०८ | Jul 6, 2025
एसिया कपको नजिकै पुगेर नेपालको ‘हार्टब्रेक’ : नयाँ प्याट्रनमा खेल, दबाबमा सम्हालिन सकस
Photo : NSJF

काठमाडौं । अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको नजिक पुगेर नेपाली महिला फुटबल टोली एसिया कप छनोटबाटै बाहिरिएको छ। समूह ‘एफ’ अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपालले उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै एसियन कपबाट विमुख भएको हो।

Tata
GBIME
Nepal Life

नेपाली टोली एसियन कप छनोट खेल्न जानुअघि नै मोटामोटी स्पष्ट थियो : उज्बेकिस्तानलाई रोक्न सके नेपाल एसिया कपमा पक्का। फिफा वरीयतामा ४९ स्थानमाथि रहेको उज्बेकिस्तानसँग नेपालले कमब्याक गर्दै खेल पेनाल्टी सुटआउटसम्म पनि पुर्‍यायो। तर, पेनाल्टी सुटआउटमा नेपालले दुई गोलमा चुक्दा एसिया कप पुग्ने सपना अधुरै रहेको हो।

त्यसअघि नेपाल र उज्बेकिस्तान दुवैले आँकलन गरिएको हिसाबले नै श्रीलंका र लाओसमाथि रवाफिलो जित निकालेका थिए। नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ७-० गोलअन्तरले हराएको थियो।

उज्बेकिस्तान जानुअघि नै प्रशिक्षक प्याट्रिक डी वाइल्डले घरेलु टोलीविरुद्ध सहज नहुने संकेत गर्दै ‘रियालिस्टिक’ बन्नु पर्ने बताएका थिए।

‘म कुनै पत्रकारसँग उज्बेकिस्तानको बारेमा कुरा गर्न चाहन्नँ, यो हास्यास्पद छ। विश्वमा ५१ औं नम्बरमा रहेको टोलीलाई हामी सजिलै जित्ने अपेक्षा कसरी अपेक्षा गर्ने गर्छौं?,’ उनले भनेका थिए, ‘ त्यसो भए यसको मतलब उज्बेकिस्तानले विश्वको दोस्रो नम्बरको टोलीबाट पनि जित्न सक्छ, त्यो पनि ५० स्थानको फरक हो। त्यसैले कृपया ‘रियालिस्टिक’ हुनुहोस्।’

खेलमा हार पछि प्रशिक्षक प्याट्रिकले एसिया कप पुग्न नसके पनि नेपालको खेल उच्चस्तरको भएको प्रतिक्रिया दिएका छन्।

३ खेलमा २० गोल गर्नु भनेको अविश्वसनीय उपलब्धि हो,’ उज्बेकिस्तानसँगको खेलपछि प्याट्रिकले भने, ‘ दुर्भाग्यवश, हामी एसियन कपमा जान पाएनौं। त्यो अनुभव शानदार हुन्थ्यो।’

उनले यो प्रदर्शनमा गर्व महसुस गरेको बताउँदै १०० औँ स्थानमा भएको टोलीले ५१ औँ स्थानमा रहेको टोलीले दिएको यो चुनौती ठूलो कुरा भएको बताए। उनी सुरुवाती १०–१५ मिनेट नेपाली खेलाडी अलि प्रभावित भएको तर पछि खेलमा नियन्त्रण बनाएको बताउँछन्।

‘उनीहरूको शारीरिक बनावट बलियो थियो, जसले गर्दा हाम्रो खेलाडीहरूलाई थोरै समय चाहियो अनुकूल हुन,’ प्रशिक्षक प्याट्रिकले भने,’बराबरीपछि पेनाल्टी सुटआउटमा हार्‍यौं। त्यसैले वास्तविक समयमा हामी हारेका होइनौं। तर जित नभएपछि ‘हामीले जित्नै पर्थ्यो’ भन्ने दाबी गर्न मिल्दैन। यद्यपि म भन्न चाहन्छु—हामी शतप्रतिशत जितको हकदार थियौं।’

ब्याड लक भयो, कप्तानीमा अल्झिएर नबसेको राम्रो!

नेपाली राष्ट्रिय टोलीमा लामो समय बिताएर घरेलु फुटबलमा दबदबा बनाएका गोलकिपर विशाल श्रेष्ठ माथिल्लो वरीयताको उज्बेकिस्तानसँग उसैको मैदानमा नेपालको प्रदर्शनलाई सकारात्मक मान्छन्।

‘सुरुमा कन्ट्रोल नहुँदै गोल खान पुग्यो। त्यसपछि १० मिनेट भित्रै अर्को गोल पनि खाँदा दबाबको स्थिति बन्यो,’ श्रेष्ठ भन्छन्, ‘पहिलो हाफमै गोल फर्काएर कमब्याक गर्ने एउटा राम्रो लक्षण देखाएको थियो। दोस्रो हाफमा पनि दुई गोल थपेर ड्र सम्म लिएर आयो। अवे टोलीले होम टोलीलाई त्यतिको गर्नु भनेको एकदमै सकारात्मक कुरा हो।’

यसले नेपाली टोलीले राम्रो मेहेनत गरेको देखिने उनी बताउँछन्। पेनाल्टीमा चुक्नुलाई भने उनी दुर्भाग्य मान्छन्।

‘पेनाल्टीमा लकले साथ दिएन। कसले कस्तो हान्यो भन्ने आफ्नो ठाउँमा छ। साम्बाले नै गोल हानेर हामी पेनाल्टीसम्म पुगेका थियौँ। उसकै मिस हुन्छ भन्ने थिएन,’ उनी भन्छन्, ‘फुटबलमा यो भइरहने कुरा हो। गेममा एकदम राम्रो खेलेर आफ्नो लेभलमा कमब्याक गर्नु ठूलो पक्ष हो।’

नेपाली महिला टोलीमा यसपटक ‘प्रो-लाइसेन्स’ प्राप्त प्रशिक्षक प्याट्रिक डी वाइल्डले डेब्यु गरे। यो स्तरको प्रशिक्षक नेपाली महिला टोलीले पहिलो पटक पाएको हो। श्रेष्ठ कोचको रणनीति मैदानमा देखिएको बताउँछन्।

‘पहिला हामीले लगभग अनुमान गर्ने किसिमकै रणनीति हुन्थ्यो। अहिले कोचले आफ्नै किसिमको रणनीतिमा खेलाउनु भयो। राम्रो भयो। प्लेइङ प्याट्रन पनि फरक थियो,’ उनले भने।

सम्हालिन नपाउँदै गोल भएर पनि कमब्याक गरेर नेपालले आफ्नो क्षमता देखाएको उनी बताउँछन्।

‘जुन टिमले सम्हालिएर खेल्छ उसले गोल गर्छ। जसले सम्हालिएर खेल्न सक्दैन, गोल खान्छ भन्ने फुटबलमा एउटा भनाइ पनि छ। हाम्रो टिम सम्हालिन नपाउँदै उनीहरुले गोल हानि हाल्यो,’ उनले भने,’हामी जोसँग पनि खेल्न सक्ने सक्षम टिम छौँ भनेर प्रमाणित भयो। धेरैको उज्बेकिस्तानले सजिलै जित्छ भन्ने आँकलन गरेको थियो। तर, हाम्रो टोलीले गिभ अप नगरी कमब्याक गरेर ३-३ गोलको नतिजा ल्याउनु भनेको टिमको पोटेन्सियल कति छ भन्ने देखाउनु भएको छ।’

नेपाली टोलीले उज्बेकिस्तानमा आफ्नो १०० औँ खेल खेल्दै इतिहास पनि बनाएको छ। तर, यसपाला प्लेइङ ११ मा ब्यापक परिवर्तन भयो। नियमित कप्तानी सम्हाल्दै आएकी अञ्जिला तोम्बाफोले कुनै पनि खेलमा सुरुवात गरिनन्। अर्कोतर्फ अञ्जना रानामगरले नेपालको गोलपोस्ट सम्हालिन्। त्यस्तै प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी साम्बाले पहिलो पटक आर्मब्याण्ड लगाइन्।

कप्तानको विषयमा भने फुटबल वृत्तमा चर्चा परिचर्चा उत्तिकै चलिरहेको छ। लाओसविरुद्धको खेलमा एन्फाले रेनुका नगरकोटे कप्तान भनेर प्लेइङ ११ सार्वजनिक गरे पनि पछि साम्बाले कप्तानी सम्हालिन्।

‘हाम्रोमा क्याप्टेनका लागि विवाद चल्छ। देशले चाहिँ खेल्नुपर्‍यो। देशले जित्नुपर्‍यो भनेर जबसम्म हामी अघि बढ्दैनौँ तबसम्म सानोसानो कुरामै अल्झिराख्छौँ। कहिले रेनुकालाई कप्तानी किन दिएन, कहिले साम्बाको कप्तानी भनेर आइरहन्छ यो आवश्यक छैन,’ विशाल भन्छन्, ‘क्याप्टेन को बन्ने होइन, त्यहाँ गएको सबै देशको लिडर हो। ३ करोड मान्छेबाट २३ जना गएको भनेपछि सबैजना क्याप्टेन, सबैजना लिडर हो।’

यसमा विश्व फुटबलमै कोचलाई प्लेइङ प्याट्रनमा आफ्नो रणनीति बमोजिमको खेलाडी खेलाउने चलन हुने उनी बताउँछन्।

‘कोचको डिसिनजन हो। उहाँको प्लेइङ प्याट्रन हो। अन्जनाले यसपटक अवसर पायो, एन्जिलाले पाएन। जसले खेले पनि नेपालले खेलेको थियो। अञ्जनाले राम्रो खेल्यो। अञ्जिलाले भएको भए पनि राम्रो खेल्थ्यो। उषाले पनि राम्रो खेल्थ्यो होला,’ उनले भने।

उज्बेकिस्तानविरुद्ध बाहदुरीपूर्ण प्रदर्शन

वरीयताका हिसाबले नेपालभन्दा निकै माथि रहेको उज्बेकिस्तानविरुद्ध नेपालले अन्तिमसम्म संघर्ष गरेको थियो। ३-१ गोलले पछि परेको अवस्थाबाट नेपालले पुनरागमन गर्दै ३-३ गोलको अवस्थामा पुर्‍याए पनि पेनाल्टी सुटआउटमा नेपाल चुकेको थियो।

खेलमा नेपालको सुरुवातबाटै राम्रो हुन सकेको थिएन। पहिलो १० मिनेट भित्रै नेपालले दुई गोल ब्यहोर्न पुगेको थियो।

खेलको दोस्रो मिनेटमै सम्हालिन नपाउँदै डियाराखा खाबिबुल्लायेभाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन्। दोस्रो गोल लउडमिला कराछिकले १० औँ मिनेटमा गरेको प्रहार समीक्षा घिमिरेलाई लाग्दै गोल हुँदा नेपाल दबाबमा आएको थियो।

यद्यपि २४ औँ मिनेटमा सावित्रा भण्डारी (साम्बा)ले गोल फर्काउँदै नेपाललाई खेलमा फर्काइन्। तर, ३९ औँ मिनेटमा नेपाली डिफेन्डरको ह्याण्डबलमा पेनाल्टीको अवसर पायो। यसलाई शोयिमोभा माफ्तुनाले गोलमा परिणत गरिन्। पहिलो हाफकै अन्त्यमा नोजिमा एरगासेभाले साम्बामाथि खराब ट्याकल पछि रेडकार्ड ब्यहोर्दै बाहिरिँदा दोस्रो हाफमा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो।

दोस्रो हाफमा साम्बाले ब्याकटूब्याक गोल गर्दै खेल बराबरीमा ल्याइन्। ७१ औं मिनेटमा गीता रानाले र ७२ औं मिनेटमा साम्बाले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए।

यसअघिका लाओस र श्रीलंकाविरुदधको खेलमा साम्बाले ह्याट्रिक गोल गरेकी थिइन्। उनको उत्कृष्ट प्रदर्शनका बावजुत नेपालले खेल भने जित्न सकेन। योसँगै समूह ‘एफ’ बाट उज्बेकिस्तान एसिया कपमा पुगेको छ।  

उज्बेकिस्तानमा नेपालको नतिजा

नेपाल ९-० लाओस

श्रीलंका ०-८ नेपाल

उज्बेकिस्तान ३-३ नेपाल (४-२ पेनाल्टी)