
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले राजनीतिकर्मीमा भ्रष्टीकरण बढ्नुमा महँगो चुनाव पनि एउटा कारण भएको टिप्पणी गरेका छन्।
उपसभापति डा. वाग्लेले उद्योग संगठन मोरङको आयोजनामा बिहीबार भएको छलफलमा राजनीतिक पार्टीलाई सरकारले चुनाव खर्च दिए चुनाव सस्तो पर्ने तर्क गरे।
वाग्लेले भने, ‘हामी सरकारले हरेक राजनीतिक पार्टीलाई एक भोट बराबर १ सय रुपैयाँ दिनुपर्छ भन्ने नीतिमा छौँ। मैले यो कुरा रामेश्वर खनालजीलाई पनि अनुरोध गरेर प्रतिवेदनमा लेख्न लगाएँ। तर बजेट बनाउँदा अर्थमन्त्रीजीले यसलाई वास्ता गर्नुभएन। एक भोट एक सयको नीति ल्याउने हो भने उम्मेदवारले एक सुका पनि चन्दा उठाउनु पर्दैन।’
उनले नेपालको सरकार एक भोट एक सयको नीति कार्यान्वयन गर्नसक्ने अवस्थामा रहेको जिकिर गर्दै यसले चुनावलाई भ्रष्टीकरणबाट जोगाउन मद्दत गर्ने दाबी गरे। वाग्लेले सत्तामा रहेका नेताहरूले खर्चबर्चको तुजुक देखाइरहँदा रास्वपासित सामान्य खर्च गर्ने कोष पनि नभएको दुखेसो गरे।
‘मेरो तलब ६६ हजार हो। हाम्रा प्रवक्ता मनीष झाको पनि त्यति नै हो। शेरबहादुर देउवा र गगनकुमार थापाको पनि ६६ हजार नै हो। तर, देउवा र थापाजी एक पटक जिल्ला जाँदा ५ लाख खर्च हुन्छ। हामीले ५ पटक सोचेर हिँड्नु पर्छ। कहाँबाट आउँछ यत्रो पैसा?’ उनको आक्रोश थियो।
नेपाल एसियाको सबैभन्दा गरिब देश हुन लागेको उनले टिप्पणी गरे। देशमा प्रजातन्त्रको पुनःस्थापनापछि नै कुशासन र आसेपासे पुँजीवादले प्रश्रय पाएको बताए। वाग्लेका अनुसार गणतन्त्रको स्थापनापछि कुशासन र आसेपासे पुँजीवाद अझ व्याप्त भएकाले मुलुक एसियाकै गरिब राष्ट्रमा पुग्न लागेको हो।
‘आर्थिक विकासक्रम हेर्दैजाँदा हामी संकुचित हुँदै गएका छौँ। अहिलेकै प्रजननदर हुने हो भने २०२८ मा हामी बुढ्यौली समाजमा प्रवेश गर्नेछौँ। त्यसपछि हामी एसियाकै सबैभन्दा गरिब मुलुक हुनेछौँ,’ वाग्लेको भनाइ छ।
उनले नेपाल आर्थिक रूपमा इतिहासमै निर्णायक र कठिन अवस्थामा आइपुगेको चर्चा गर्दै अब पनि रिफर्मको तीव्र प्रक्रिया सुरु नगर्ने हो भने देशलाई कसैले बचाउन नसक्ने जिकिर गरे।
‘तर, सत्तामा बस्नेहरू मैले के पाउँछु भन्नेबाहेक देशका लागि ५ मिनट पनि सोच्तैनन्। सबै नेताको नीति, नियत र क्षमतामा सुधार ल्याउनु जरुरी छ। आजीवन आन्दोलनमा लागेर ९/९ वर्ष जेल बस्नुहुने शेरबहादुर देउवाको घर आज सबैभन्दा भ्रष्ट छ। यस्तो अवस्थामा आर्थिक सुधारका कदम कसरी अघि बढ्लान्?’ उनले प्रश्न गरे।
उनले ३० वर्ष कठोर संघर्ष गरेको नेपाली कांग्रेस ३ वर्षमै भ्रष्ट भएको र त्योभन्दा छिटो एमाले अनि एमालेभन्दा पनि छिटो माओवादी भ्रष्ट भएको आरोप लगाए। उपसभापति वाग्लेले संसद्मा आफ्नो पार्टीका सांसदलाई कुरा राख्न अत्यन्त कम समय दिने गरिएको भन्दै रोष व्यक्त गरे।
उनको भनाइ थियो, ‘संसद्मा कसको कन्टेन्ट (अन्तर्वस्तु) कस्तो छ भन्ने विचार गरिँदैन। कुन पार्टीको कति सांसद संख्या छ भन्ने हिसाब गरेर बोल्ने समय निर्धारण गरिन्छ। त्यसैले ठूला पार्टीका नेताले ४५ मिनेटसम्म समय पाउँदा हामीले बढीमा ५ मिनेट मात्र पाउँछौँ। तर, पनि १५ जनाले सिंगो संसद्लाई हल्लाएर राखेका छौँ।’
पार्टीका प्रवक्ता एवम् सांसद् मनीष झाले नेपालको विकास निर्माणलाई तीव्र गतिले अगि बढाए एकीकृत रणनीति र योजना हुनुपर्ने धारणा राखे।
प्रवक्ता झाले अहिलेसम्म शासनमा देखिएका मुख्य पार्टी र तिनका नेताबाट अब मुलुकले केही पाउने आशा मरिसकेको चर्चा गर्दै २०८४ को चुनावले मुलुकको रूपान्तरणका लागि ठूलो योगदान गर्ने दाबी गरे।