
काठमाडौं। नेपाली यू-१६ टोलीले मलेसियालाई हराएको छ। एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियामाथि ९ विकेटको प्रभावशाली जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।
मलेसियाको क्वलालम्पुरस्थित सेलानगोर टर्फ मैदानमा नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
सुरुवाती ब्याटिङमा उत्रिएको मलेसियाले ४३.१ ओभरमा अलआउट हुँदै ९० रन बनायो। घरेलु टोलीका लागि मोहम्मद फतुल मोइनले सर्वाधिक ३८ रन बनाउँदा दीएज पात्रोले १० रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ नेपालका अभय यादवले १० ओभर बलिङ गर्दै मात्रै १५ रन दिएर ४ विकेट लिए। त्यस्तै, शुभम खनालले ३ तथा विपिन शर्मा र सचिन भट्टले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि ओपनर परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको सहायतामा अविजित ५९ रन बनाउँदा शिवांश बजगाइले अविजित २३ रन बनाए।
त्यस्तै, प्रसिद्ध जैसीले २ रन बनाए। बलिङतर्फ मलेसियाका नागिनेश्वरनले १ विकेट लिए।
नेपाल समूह ‘ए’मा शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा पुगेको थियो भने मलेसियाले ४ मध्ये तीन खेलमा जित निकाल्दै समूह उपविजेता बनेर सेमिफाइनल पुगेको थियो।
नेपालले अब उपाधिका लागि शनिबार हङकङ र सिंगापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेलमा हाल यी दुई टोली प्रतिस्पर्धा गरिरहेका छन्।