सभामुख घिमिरेको भूमिकामाथि कृष्णगोपालले उठाए प्रश्न, ‘विधेयक किन फुत्त राष्ट्रिय सभामा पठाएको?’



बिजमाण्डू
२०८२ असार १८ गते १४:४० | Jul 2, 2025
सभामुख घिमिरेको भूमिकामाथि कृष्णगोपालले उठाए प्रश्न, ‘विधेयक किन फुत्त राष्ट्रिय सभामा पठाएको?’
राज्य व्यवस्था समितिको बुधबारको बैठक

काठमाडौं। सत्तारुढ नेकपा एमालेले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ।

Tata
GBIME
Nepal Life

संसदीय समितिले गरेको निर्णय कार्यान्वयन नहुने गरी हेरफेर गरिएको संघीय निजामती विधेयक हतार हतार राष्ट्रिय सभामा पठाएको भन्दै एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाएको हो।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले विधेयकमा भएको चलखेलबारे छानबिनको माग उठिरहेका बेला त्यसलाई बेवास्ता गरी सभामुखले राष्ट्रिय सभामा पठाएकामा असन्तुष्टि जनाए।

‘सभामुख पनि कति छिटो? संसद्को तपाइँ नायक हो भन्दा भन्दै विधेयक फुत्त राष्ट्रिय सभा पठाईसक्नु भएछ,’ उनले भने, ‘फेरि अब राष्ट्रपति हुनुहुन्छ भन्नु होला।’

विधेयकमा भएको हेरफेरलाई संसदीय सर्वोच्चतामाथिकै प्रहारका रुपमा लिएर यसमा तत्काल छानबिनको माग सत्तारुढ र विपक्षी दलका सांसदबाट उठिरहेका बेला सभामुख घिमिरेले बेवास्ता गरिरहेका छन्। उनले विधेयक राष्ट्रिय सभामा पठाएका छन्। विधेयक बुधबार राष्ट्रिय समाभा टेबल भएको छ।

एमाले सांसद श्रेष्ठले समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागे भने सचिवलाई आइन्दा नमान्ने बताए।

‘विधेयकमा सभापति र सचिवले त्रुटी होइन अपराध गर्नुभएको छ। सचिवलाई भोलिदेखि हामी मान्दैनौं। तपाइँ भोलिदेखि यहाँ नआउनुस्। रामहरि खतिवडा तपाइँलाई कुर्सीमा बस्ने अधिकार छैन,’ उनले भने।