क्रिकेटमा नेपाल सामू इन्डोनेसिया निरीह, ४२१ रनको विशाल स्कोर पछ्याउँदा ५० रनमै अलआउट



बिजमाण्डू
२०८२ असार १५ गते १३:५९ | Jun 29, 2025
क्रिकेटमा नेपाल सामू इन्डोनेसिया निरीह, ४२१ रनको विशाल स्कोर पछ्याउँदा ५० रनमै अलआउट
विकेट सेलिब्रेट गर्दै नेपाली खेलाडी। तस्बिर: क्यान

काठमाडौं। नेपाली यू-१६ क्रिकेट टोलीले भारी रनरेटका आधारमा इन्डोनेसियालाई हराएको छ।

Tata
GBIME
Nepal Life

मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० रनको जित निकालेको हो। यो जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ।

मलेसियाको क्वालालम्पुर सेलनगोर टर्फ क्लबमा इन्डोनेसियाले टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। जसमा नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनायो।

नेपालका लागि प्रसिद्ध जैशीले शतकीय इनिङ्स खेल्दै सर्वाधिक १३२ रन बनाउँदा रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१, जोए थापाले ५७ तथा सुगम बुढाथोकीले अविजित ३९ रन बनाए।

बलिङतर्फ केभिन निरज चड्डा, महेन्द्र अजी र रेयान रिजाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेसिया २४.३ ओभरमा ५० रन बनाएर अलआउट भयो। इन्डोनेसियाका निरजले १५ तथा दिवित नन्दाले १४ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन नै बनाउन सकेनन्।

बलिङतर्फ नेपालका कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ६ विकेट लिँदा सुगम बुढाथोकी र शुभम खनालले १ विकेट लिए।

योसँगै नेपाल लगातार तेस्रो खेलमा विजयी भएको छ। यसअघिका खेलमा नेपालले जापान र सिंगापुरलाई हराएको थियो। नेपालले अब भुटानसँग खेल्न बाँकी छ। समूह ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, जापान र भुटान छन्। यो समूहबाट नेपाल र सिंगापुरले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

समूह ‘बी’ बाट हङकङले सेमिफाइनलमा स्थान बनाउँदा मलेसिया र थाइल्याण्डले दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा गरिरहेका छन्। म्यानमार र माल्दिभ्स भने समूह चरणबाटै बाहिरि सकेका छन्।