इजरायल-इरान युद्धविरामले केही राहत, व्यापार युद्ध विश्व अर्थतन्त्रका लागि अझै पनि तगारो



बिजमाण्डू
२०८२ असार ११ गते ०८:२३ | Jun 25, 2025
इजरायल-इरान युद्धविरामले केही राहत, व्यापार युद्ध विश्व अर्थतन्त्रका लागि अझै पनि तगारो

तेलको मूल्य दुई हप्तायता पहिलोपटक ओरालो लागेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा इजरायलले इरानसँग युद्धविराम गर्न स्वीकार गरेपछि यो गिरावट आएको हो।

Tata
GBIME
Nepal Life

तर, उत्तरी चिनियाँ बन्दरगाह सहर तिआनजिनमा भएको एक महत्त्वपूर्ण आर्थिक सम्मेलनमा सहभागी व्यवसायीहरू भने विश्व अर्थतन्त्रको अवस्थाले चिन्तित देखिएका छन्। उनीहरू अबको ठोस आर्थिक वृद्धिको सम्भावनालाई लिएर चिन्तित देखिएका हुन्।

इरान र इजरायलबीचको द्वन्द्व अचानक चर्किँदा र त्यसमा अमेरिका पनि तानिँदा व्यापार, कर तथा महँगीभन्दा पनि यो द्वन्द्व विश्वका लागि ठूलो चिन्ताको विषय बनेको थियो।

वर्ल्ड इकोनोमिक फोरमका अध्यक्ष बर्ग ब्रेन्डेले भने, ‘यो दशकौँयताकै सबैभन्दा जटिल भू-राजनीतिक र भू-अर्थिक परिवेश हो। यदि हामीले पुनः आर्थिक वृद्धि ल्याउन सकेनौं भने अबको दशकमा कमजोर वृद्धि हुने सम्भावना छ।’

फोरमले स्वतन्त्र व्यापार र विश्वव्यापीकरणको पक्षमा लामो समयदेखि पैरवी गर्दै आएको छ। तर, ट्रम्पको भन्सार नीतिले आपूर्ति शृंखला अव्यवस्थित बनाएको छ। यसले व्यवसायहरूलाई दीर्घकालीन योजना बनाउन गाह्रो पारेको हो।

कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री फ्रिडेन भन्छन्, ‘हामी अहिले अनिश्चिततामा बाँचिरहेका छौं। व्यवसायहरूले विगत केही वर्षमा के भयो भन्ने बुझ्नुपर्ने स्थिति छ। अहिलेको समय एक युगको अन्त्य हो र हामी अर्को नयाँ युगमा प्रवेश गरिरहेको छौं।’

भू-राजनीतिक जोखिमहरूले विश्व अर्थतन्त्रमा ठूलो असर पार्न सक्छ। तेलको मूल्य बढ्दा सामान उत्पादन गर्न लाग्ने ऊर्जा लागत बढ्छ। त्यो लागत अन्ततः आउने भनेको उपभोक्तामाथि नै हो।

यसले गर्दा उपभोक्ताले खर्च कटौती गर्न सक्छन्। मूल्यवृद्धिले माग घटाउँछ। महँगी लगातार बढेमा केन्द्रीय बैंकहरू ब्याजदर घटाउन हिच्किचाउने सम्भावना रहन्छ।

युद्ध वा द्वन्द्वका कारण उडानहरूको रूट परिवर्तन हुनु, पर्यटन क्षेत्र प्रभावित हुनुजस्ता कारणले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ। लगानीकर्ताहरू अनिश्चितताबाट डराउँछन्। यसले सेयर बजारमा गिरावट ल्याउन सक्छ र उनीहरू सुन वा डलर जस्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित हुन्छन्।

इरानले होर्मुजको साघँरो जलमार्ग बन्द गर्ने धम्की दिएको थियो। यो मार्ग विश्वका सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्येको एक हो। विश्वको करिब २५ प्रतिशत तेल आपूर्ति यही बाटो भएर हुन्छ। यसबाट चीनलाई धेरै असर पर्न सक्छ किनकी चीनले इरानको ९० प्रतिशत तेल आयात गर्छ।

चिनियाँ परामर्शदाता संस्था एपीसीओका प्रमुख क्रिस टरेन्स भन्छन्, ‘चीनले प्रवर्धन गरिरहेको उच्च प्रविधि क्षेत्रसहित केही ठूलो मेशिनरी क्षेत्र अझै पनि तेलमा निर्भर छन्। त्यसैले कुनै पनि तेल आपूर्तिमा अवरोध चीनका लागि चिन्ताको विषय हो।’

यो सम्मेलन चीनको अर्थतन्त्रका लागि संवेदनशील समयमा भएको छ। चीन लामो समयदेखि सम्पत्ति बजारको संकट, बेरोजगारी र सुस्त आन्तरिक खर्च जस्ता समस्याबाट गुज्रिरहेको छ।

चीनले अर्थतन्त्र चलायमान बनाउन थुप्रै उपायहरू ल्याएको छ। हालसम्म चीनले आफ्नो करिब ५ प्रतिशतको आधिकारिक वृद्धि लक्ष्य प्राप्त गरिरहेको छ। अर्थशास्त्रीहरूका अनुसार यसवर्ष विश्व आर्थिक वृद्धिमा ३० प्रतिशत चीनले योगदान गर्न सक्छ।

टरेन्सले चिनियाँ अधिकारीहरूले अवसर देखिरहेको बताए।

‘मलाई लाग्छ, फोरमको यो कार्यक्रममार्फत चीनले आफूलाई विश्वव्यापीकरणको पक्षपातीका रूपमा देखाउने अवसर पाएको छ,’ उनले भने, ‘चीन अझै पूर्ण स्वतन्त्र व्यापारको नमूना बनेको छैन। बजार पहुँचका केही समस्या छन्। तर, चीन क्षेत्रीय र विश्वस्तरमा आफूलाई सक्रिय बनाउन चाहन्छ।’

ट्रम्पको व्यापार युद्धले चीनको निर्यात व्यवसायमा खतरा पैदा गरेको छ। त्यसैले बेइजिङ अब कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिलाई नयाँ वृद्धिको माध्यम बनाउने प्रयासमा लागेको छ।

फोरमका प्रबन्ध निर्देशक मिरेक डुसेक भन्छन्, ‘पछिल्ला दशकहरूमा व्यापार मुख्य वृद्धिको इन्जिन थियो। तर, अब केही प्रविधिहरूले नयाँ वृद्धि र प्रतिस्पर्धाका सम्भावना ल्याउनेछन्।’

लेखा कम्पनी पीडब्लुसी का अनुसार एआईले २०३५ सम्ममा विश्व आर्थिक वृद्धिमा १५ प्रतिशत योगदान पुर्‍याउनेछ।

तर, फोरमको कार्यक्रममा सहभागी व्यवसायीहरूको ध्यान भन्सार (ट्यारिफ)तिरै केन्द्रित छ। उनीहरू नयाँ सहकार्य खोजिरहेका छन् र अनिश्चित आर्थिक वातावरणमा आफूलाई कसरी सम्हाल्ने भन्नेबारे छलफल गरिरहेका छन्।

आगामीको केही सातामा ट्रम्पले लगाएका केही शुल्कहरूमा गरिएको अस्थायी रोक हट्नेछ। त्यसपछि विश्व व्यापार वातावरण कस्तो हुनेछ भन्नेबारे कुनै निश्चितता छैन।

प्राध्यापक फ्रिडेन भन्छन्, ‘दीर्घकालीन योजना बनाउन व्यवसायका लागि निकै कठिन छ। कुन सामानमा कति शुल्क लाग्ने हो भन्ने पत्तो छैन। त्यसैले अमेरिकाभित्रै लगानी गर्ने कि विदेशमै रहनु उचित भन्ने निर्णय गर्न पनि कठिन छ – चाहे त्यो अमेरिकी कम्पनी होस् वा गैरअमेरिकी।’