‘टेक एण्ड पे’ फिर्ता लिन ऊर्जा उद्यमीले सामाजिक सञ्जालमार्फत दिए दबाब

बिजमाण्डू
२०८२ असार ८ गते १३:२७ | Jun 22, 2025
‘टेक एण्ड पे’ फिर्ता लिन ऊर्जा उद्यमीले सामाजिक सञ्जालमार्फत दिए दबाब

काठमाडौं। विद्युत खरिद बिक्री सम्झौता (पीपीए) ‘टेक एण्डे पे’का आधारमा गर्ने बजेटको व्यवस्थाविरुद्ध ऊर्जा उद्यमीहरु सामाजिक सञ्जालमार्फत विरोध गरेका छन्।

Tata
GBIME

ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नाम उल्लेख गरेर टेक एण्ड पेको व्यवस्था हटाउन आग्रह गरेका छन्।

आन्दोलनको तेस्रो दिन ऊर्जा उद्यमीहरुले सामाजिक सञ्जालमार्फत ‘ऊर्जामा निजी क्षेत्र समाप्त पार्ने, लोडसेडिङ निम्त्याउने, लगानीकर्तालाई डुबाउने र देशको अर्थतन्त्र सिध्याउने टेक एण्ड पे पीपीए खारेज गर’ भनेका छन् ।

ऊर्जा उत्पादकहरुको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले टेक एण्ड पे फिर्ता लिन सरकारलाई दबाबस्वरुप सामाजिक सञ्जालमा सन्देश लेखिएको बताए।

ऊर्जा उद्यमीहरुले यसअघि गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए। उनीहरुले शनिबार प्रधानमन्त्री ओलीसहित, अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकैपटक सयौं एसएमएस गरेर टेक एण्ड पे प्रावधान फिर्ता लिन आग्रह गरेका थिए।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले निर्माण गर्ने नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाको पीपीए टेक एण्ड पेका आधारमा गर्ने उल्लेख गरेपछि इप्पान आन्दोलनमा उत्रिएको हो।