
काठमाडौं। सन् १९७२ को चर्चित म्युनिख ओलम्पिक धेरैले याद गरेको हुनुपर्छ। यही ओलम्पिक हो जहाँ बीएमडब्लुले १६०२ इ मोडलको प्रोटोटाइप इलेक्ट्रिक कारलाई खेलकुदकै क्रममा प्रदर्शन गरेको थियो। ईभीतर्फ प्रोटोटाइप बनाउने कदममा सधैं अगाडि रह्यो यो कम्पनी।
तर, ‘आई थ्री’ पहिलो मुलधार समेट्ने बीएमडब्लुको ईभी थियो जसलाई कम्पनीले सन् २०१३ मा लन्च गर्यो। विश्व नै ईभीतिर तानिन थालेसँगै सन् २०२० देखि कम्पनी आक्रामक रुपमा विद्युतीय कार उत्पादनको रफ्तारमा दौडिन थालेको छ। त्यसैको प्रतिफल हो – सन् २०२५ देखि कम्पनीको ‘न्यु क्लास परियोजना’।
यो परियोजनाले हाइब्रिड होइन शतप्रतिशत विद्युतीय कार उत्पादन गर्ने लक्ष्य लिन्छ जसमा छैटौं पुस्ताको ब्याट्रीको प्रयोग गरिन्छ। ब्याट्री क्षमता र गाडीको रेन्ज दुवै ३० प्रतिशत माथि पुर्याउने एउटा महत्त्वाकांक्षी परियोजनाको सुरुवात वर्षमा हामी भने बीएमडब्लुको आईएक्स टू मोडलको टेस्ट ड्राइभ गर्दैछौं।


आईसी इन्जिनसहितको कार निर्माणको एक शताब्दी पूरा भएपछि बीएमडब्लुले इलेक्ट्रिक कार उत्पादनलाई व्यावसायिक रुपमा ढिलोगरी अगाडि बढायो। यसै पनि जर्मन कार र मेसिनले संसारमा नयाँ क्रान्ति ल्याएको मानिन्छ। परम्परागत पेट्रोल र डिजल कारतर्फ जर्मन कम्पनीहरु बलियो रुपमा उत्रिए पनि इलेक्ट्रिक सेगमेन्टमा भने उनीहरुको उपस्थिति सुस्त रह्यो।
यतिखेर चिनिया ईभीले संसारको अटो इन्ड्रस्टीलाई नै ‘चक्मा’ दिँदै मार्केट लिडर बनिसकेको छ। त्यही प्रतिस्पर्धामा युरोपेली कार उत्पादकहरू पनि प्रतिस्पर्धा गरिरहेका छन्

आफ्नो पुरानो ब्रान्ड इमेज सहित। विशेषगरी सेफ्टी र लग्जरीको मामिलामा जर्मन कार अब्बल मानिन्छ। तिनै लग्जरी सेगमेन्टको कारमध्येको हो बीएमडब्लु आई एक्स टू।
युरोपेली ब्रान्डको यस मोडलको टेस्ट ड्राइभ हामीले थापाथलीबाट सुरु गर्यो। यस कारमा १७० एमएम ग्राउन्ड क्लियरेन्स भएकाले हाम्रो ठम्याई थियो – सहरी क्षेत्रमा यात्रा गर्ने। यसै पनि धेरैजसो लग्जरी सेगमेन्टका कारलाई हामीले सहरी सडकमै धेरै देख्ने गरेका छौं। ब्रान्डका हिसाबले बीएमडब्लु नाममा कुनै विशेषण जोडिरहन पर्दैन।
यसको इभी सेगमेन्टमा विद्युतीय हो भन्ने देखाउने ग्रिल बाहेक अधिकांश कुरा पुरानै पहिचान झल्काउने देखिन्छ। एक्स्टेरियर पूरै स्पोर्टी देखिने यो एसयूभी के अफरोड वा उवडखावडमा चलाउन हुँदैन त?


सुरुमा सहरी क्षेत्रमा मात्र कुदाउने रणनीति लिए पनि यसखाले प्रश्नको जवाफ खोज्न हामीले केही अफरोड र उकालो यात्रा पनि गर्ने तय गर्यौं। कारको ड्राइभिङ सिटमा बस्नासाथ प्रिमियम अनुभूति हुनु अस्वभाविक लागेन किनकि यो आफैँमा महँगो कार हो।
ड्राइभिङ सिटलाई दुईजनासम्म व्यक्तिले आफूअनुकूल एड्जस्ट गर्ने सुविधा छ यसमा जसलाई कारले मेमोरिमा लिने रहेछ। अर्थात् आफ्नो उचाइ र बसाइ अनुकूल हुनेगरी सिट एडजस्ट गरेर त्यसलाई स्टोर गर्दा बारम्बार सेटिङ फेरिरहने पर्ने झन्झट नपर्ने।
त्यसैगरी, सिटलाई आफ्नो थाइअनुकूल एड्जस्ट गर्न मिल्ने सुविधा यसमा छ। नेपालीको औशत उचाइलाई आधार मान्ने हो भने यो फिचर न्युन उपयोग हुने देखिन्छ। ड्राइभर र कोड्राइभर सिटमा यसखाले सुविधा उपलब्ध छ।

सहरी सडकपछि इभीतर्फको प्रिमियम सेगमेन्टको यस कारलाई कलंकी हुँदै स्युचाटार र त्यहाँबाट कालुपाँडेको समाधी पार्कतिर लग्यौं। सुरुमा ड्राइभ गरिरहँदा लागेको थियो – यो रेयर ह्विल ड्राइभ कार हुनुपर्छ। पर्फर्मेन्स त्यस्तै अनुभव भयो। तर, फ्रन्ट ह्विल ड्राइभमा नै रेयर ह्विल ड्राइभ जस्तो लाग्नु आफैँमा फरक अनुभव हो।
उकालोमा यसको रफ्तार गजब थियो किनकि १ सय ५० किलोवाट क्षमताको मोटरले कतै पनि सुस्त महसुस हुन दिएन। त्यसमाथि स्पोर्ट मोडले लिने रफ्तार विशेष हुने भयो नै। टेस्ट ड्राइभ गरिरहँदा टर्निङ र खाल्डाखुल्टीले कतै पनि असहज महसुस भएन। मतलब, गाडी हामीले सोचेभन्दा स्मुद लाग्यो अफरोडमा पनि।
हामीले १९५ एमएम ग्राउन्ड क्लियरेन्स भएका गाडीले भूई छुने ठाउँमा पनि यसलाई पुर्यायौं। सुरक्षित रुपले ड्राइभ गर्दा त्यस्तो ठाउँमा यसलाई सहजै लैजान सकियो। हामीले कम ग्राउन्ड क्लियरेन्सका बाबजुद उवडखावड बाटोमा सहज यात्रा गर्नसक्नुको कारण यसको टायर पनि हो। यसको टायर १९ इन्चको टायर लाग्ने रहेछ।


लामो दुरी तय गर्ने हो भने पनि यो कार हामीले गजबको पायौं। एकातिर कम्फर्टका मामिलामा कम्पनीले कुनै कसर छाडेको छैन भने अर्कातिर ब्याट्री क्षमता ६६.५ किलोवाट आवर।
नेपाली सडकमा यसलाई एक पटक पूरा चार्ज गरेपछि कम्तीमा ४ सय किलोमिटर दुरी पार गर्न सकिन्छ। राम्रो सडक र चुस्त चालक हुने हो भने ४ सय ७५ किलोमिटरसम्मको दुरी एकैपटकको चार्जिङमा सकिन्छ। त्यसमाथि यसमा ११ किलोवाट क्षमताको चार्जले स्लो स्पिडमा चार्ज गर्छ भने फास्ट चार्जरले अधिकतम १३० किलोवाटसम्म।
हेभी चार्जिङ स्टेसन छ भने हाइवेमा यसलाई पूरा चार्ज गर्न धेरै समय लाग्दैन। यसले कम्पनीको न्यु क्लास परियोजनालाई पूरापूर सहयोग गर्ने देखिन्छ।


यसको इन्टेरियर एकदमै क्लिन देखिन्छ भने इन्फोटेनमेन्टमा ठूला स्क्रिन राख्ने होडबाजीलाई सजिलै नजरअन्दाज गरेको छ कम्पनीले। हेड-अप डिस्प्लेले गाडीलाई थप प्रिमियम बनाएको छ। ब्रान्ड र लग्जरी दुवै रुचाउनेका लागि ईभीतर्फ यो गजब विकल्प हो। को कारको मूल्य झन्डै १ करोड ७९ लाख ९६ हजार रुपैयाँ पर्छ।
प्रिमियम सेगमेन्ट र प्रिमियम कार पारखीका लागि लक्षित बीएमडब्लु कार लक्ष्मी प्रिमियम मोटर्स प्रालिले नेपालमा ल्याउने गर्छ। बिक्री पछिको सेवाका लागि लक्ष्मी पहिलेदेखि नै अब्बल कम्पनीका रुपमा स्थापित छ। प्रिमियम भएकाले कम्फर्ट र सेफ्टीमा कुनै पनि कम्प्रोमाइज गरेको देखिएन।
हाम्रो टेस्ट ड्राइभले गाडीको पर्फर्मेन्समाथि प्रश्न गर्ने ठाउँ दिएन। यद्यपि, अन्य ईभीको तुलनामा एक्सिलेरेटर छोड्दासाथ ह्वात्तै ब्रेक लाग्ने गरेको हामीले पायौं। केही समय चलाएपछि भने यसमा यूजटू हुन सकिन्छ। सामग्रमा नेपालका सहरी र टू ह्विल ड्राइभ हुने कच्ची बाटोमा यसबाट आरामदायी यात्रा गर्न सकिने हाम्रो निचोड रह्यो।








