अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर नेपालले भेट्टायो ९८ रनको लक्ष्य, स्कटल्याण्डमाथि साँघुरो जित



बिजमाण्डू
२०८२ असार ३ गते २३:१६ | Jun 17, 2025
अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर नेपालले भेट्टायो ९८ रनको लक्ष्य, स्कटल्याण्डमाथि साँघुरो जित
दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल। तस्बिर; क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले स्कटल्याण्डलाई हराएको छ। स्कटल्याण्डको ग्लास्गोस्थित टिटवुड मैदानमा सम्पन्न ‘लो स्कोरिङ थ्रिलर’मा नेपालले घरेलु टोलीलाई २ विकेटले हराएको हो।

Tata
GBIME
Nepal Life

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए।

सुरुवाती ब्याटिङमा उत्रिएको घरेलु टोलीका ब्याट्सम्यानले नेपाली बलरसामू संघर्ष गर्दै १९.४ ओभरमा ९७ रनमा समेटिए।  जवाफी ब्याटिङमा उत्रिएको नेपालले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो।

नेपालको ब्याटिङ

९८ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रनको योगदान दिँदै ठीकठाक सुरुवात दिलाउने प्रयास गरे पनि अर्को एण्डमा ब्याट्सम्यान टिक्न सकेनन्।

ओपनर लोकेश बम ९ रनमा पभेलियन फर्किँदा अनिल साह ३ रन बनाएर बोल्ड आउट भए। त्यस्तै कप्तान रोहितकुमार पौडेलले पनि ७ रन बनाए। भुर्तेलपछि सर्वाधिक रन दीपेन्द्रसिंह ऐरीले बनाए। उनले १४ रन बनाउँदा बसीर अहमदले १३ तथा किरण ठगुन्नाले १० रन बनाए।

बलिङमा स्कटल्याण्डका माइकल लिस्क र सफयान शरिफले समान २ तथा ब्राण्डन म्याकमुलन, मार्क वाट, ज्याक जेर्भिस र जेस्पर डेभिडसनले समान समान १ विकेट लिए।

स्कटल्याण्डको इनिङ्स

त्यसअघि टिटवुड स्टेडियममा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। उनको निर्णयलाई सही सावित गर्दै नेपाली बलरहरुले स्कटल्याण्डको शीर्ष क्रम र तल्लो क्रमका ब्याटरलाई क्रिजमा टिक्न दिएनन्।

स्कटल्याण्डका मध्यक्रमका माइकल लिस्कले सर्वाधिक ४६ तथा म्याथ्यु क्रसले १५ रन र ब्राण्डन म्याकमुलनले १० रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रननै बनाएनन्।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभर बलिङगर्दा मात्रै ११ रन दिएर ४ विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ विकेट लिए। केसीले योसँगै टी-२० अन्तर्राष्ट्रियमा १०० रन पूरा गरेका छन्।

टी-२० सिरिजमा पहिलो जित

जारी त्रिदेशीय टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ। यसअघि आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग तीन सुपर ओभर खेलेर पनि पराजय ब्यहोरेको नेपाल पहिलो जितको खोजीमा थियो।

योसँगै तीनवटै टोलीले सिरिजमा समान दुई खेल खेलेका छन्। तीन वटै टोलीले एउटा खेलमा जित र अर्कोमा हार ब्यहोर्दा सबैको समान २ अंक छ। रनरेटका आधारमा स्कटल्याण्ड शीर्ष, नेपाल दोस्रो र नेदरल्याण्ड्स तेस्रो स्थानमा छन्।

बुधबार नेदरल्याण्ड्स र स्कटल्याण्ड फेरि आमनेसामने हुँदैछन्। नेपालले भने बिहीबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ भने शुक्रबार स्कटल्याण्डसँग फेरि प्रतिस्पर्धा गर्नेछ।