काठमाडौं। सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सोडारीले सार्वजनिक पद धारण गरेको २०७४ माघ १० गतेदेखि २०७९ फागुन १० सम्मको जाँच अवधिमा गैरकानुनीरुपमा सम्पति जोडेको देखिएको छ।
यो अवधिमा सोडारी र उनको परिवारले ८५ लाख ५१ हजार ३३४ रुपैयाँ आय गरे पनि जग्गा खरिद, घर निर्माण, घरमा आन्तरिक सजावट, छोरीको अध्ययन, बबी मसला उद्योगमा भएको लगानी, बीमा प्रिमियम भुक्तानी, छोराको विवाह, सेयर लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेत गरी १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ खर्च गरेको देखिएकाले अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारले स्रोत नखुलेको १ करोड ८ लाख ३८ हजार रुपैयाँ बाबरको सम्पत्तिलाई गैरकानुनी भनेको छ। अख्तियारले सम्पति जफतका लागि सोडारीकी पत्नी र छोरालाई पनि प्रतिवादी बनाएको छ।
नेकपा एकीकृत समाजवादीका सांसद सोडारी २०८१ वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसअघि उनी सुदूरपश्चिमको भौतिक पूर्वाधार विकासमन्त्री थिए।










