अन्तर्राष्ट्रिय हवाई भाडामा भ्याट नहटाइएकामा नाट्टा असन्तुष्ट, ‘महँगो टिकटले पर्यटक बढ्दैनन्’

बिजमाण्डू
२०८२ जेठ १६ गते १९:२४ | May 30, 2025
अन्तर्राष्ट्रिय हवाई भाडामा भ्याट नहटाइएकामा नाट्टा असन्तुष्ट, ‘महँगो टिकटले पर्यटक बढ्दैनन्’

काठमाडौं। हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नहटाइएकामा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले असन्तुष्टि जनाएको छ।

Tata
GBIME

नाट्टाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय हवाई भाडामा भ्याट नहटाइएकामा असन्तुष्टि जनाएको हो। भ्याटलाई निरन्तरता दिंदा त्यसले पर्यटकको संख्या बढाउन सहयोग नपुग्ने नाट्टाको भनाइ छ।

‘अन्तर्राष्ट्रिय हवाई भाडादरमा भ्याट जस्ता जटिल र प्रतिकूल व्यवस्थालाई निरन्तर बेवास्ता गरिएको छ। यसपालिको बजेटमा पनि भ्याट कायम राखिएकोमा पर्यटन सम्बद्ध सरोकारवाला स्तब्ध बनेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘बजेटमा पर्यटन क्षेत्रका विभिन्न पक्षमा सकारात्मक व्यवस्था ल्याइए पनि भ्याटका कारण पर्यटकको संख्या नै बढाउन नसकेको अवस्थामा अर्थ हुने छैन।’

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई वर्षअघि अन्तर्राष्ट्रिय हवाई भाडामा भ्याट लगाएका थिए। भ्याटका कारण हवाई भाडा महँगो हुँदा पर्यटकहरु नेपाल आउनुको साटो अन्यत्रै जान थालेको व्यवसायीहरुको भनाइ छ।