काठमाडौं । प्रतिनिधिसभा बैठक आज नबस्ने भएको छ। सूचना टाँस गरेर आजको बैठक स्थगित भएको जानकारी गराइएको हो।
मंगलबार जस्तै बुधबारको बैठकमा पनि विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका थिए। उनीहरुले लेखकले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नसक्ने बताउँदै आएका छन्।
लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि उनलाई राजीनामाको दबाब छ। तर, सत्तारुढ दलहरुले भने उनले राजीनामा नदिने बताइरहेका छन्।
सभामुख देवराज घिमिरेले भोलि दिउँसो १:३० बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन्।
भोलि नै आर्थिक वर्ष २०८२/८३ को बजेट पेस हुने कार्यतालिका छ। विपक्षी दलहरुले बजेट ल्याउन भने अवरोध नगर्ने बुझाइ सरकारको छ।
प्रतिनिधिसभाको बैठक संचालन हुन नसक्दा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण समेत पेस हुन सकेको छैन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची थियो। तर, विरोधका कारण उनले सर्वेक्षण पेस गर्न सकेका छैनन्।
अब उनले भोलि नै सर्वेक्षण पेस गर्ने र त्यसपछि बजेट भाषण गर्नेछन्।










