अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू)बाट आउने आयातमा लगाउने भनिएको ५० प्रतिशत ट्यारिफ (भन्सार)को ‘डेडलाइन’ जुलाई ९ सम्म सार्न सहमत भएका छन्।
ट्रम्पले यसअघि घोषणा गरेका यस्ता ट्यारिफहरूले बजारमा अन्योलता ल्याउने गरेको इतिहास छ। उनी पछिल्लो समय यस्तो निर्णय गरेर फेरि पछि हट्ने गरेका छन्।
ट्रम्पले बताएअनुसार उनले युरोपियन आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनसँग टेलिफोन वार्ता गरेका थिए। त्यस वार्ताकै क्रममा ट्यारिफ लागू हुने मिति सार्ने निर्णयमा पुगिएको उनले बताए।
न्यु जर्सीको मोरिस्टाउन म्युनिसिपल विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘उहाँ (भोन डर लायन)ले गम्भीर वार्तामा जान चाहेको बताउनुभयो। उहाँले जुन १ बाट जुलाई ९ मा सार्न प्रस्ताव गर्नुभयो र मैले त्यसमा सहमति जनाएँ।’
उनले थपे, ‘उहाँले छिट्टै भेट्न र के गर्न सकिन्छ भन्ने छलफल गर्ने प्रस्ताव पनि गर्नुभएको छ।’
शुक्रबारसम्म ट्रम्पले ईयूसँग सम्झौताका लागि तयार नभएको बताउँदै आएका थिए। त्यतिबेला उनले ५० प्रतिशत ट्यारिफ जून १ देखि लागु हुने घोषणा गरेका थिए।
अप्रिलमा ईयूमाथि लगाइएको २० प्रतिशत ट्यारिफ पनि त्यस्तै किसिमको थियो। त्यो पनि पछि सारिएको थियो।
पत्रकारहरूसँगको कुराकानी सकिएपछि ट्रम्पले ट्रुथ सोसलमा लेखे, ‘वार्ता छिट्टै सुरु हुनेछ।’
त्यसअघि युरोपियन आयोगकी अध्यक्ष भोन डर लायनले एक्समा पोस्ट गर्दै ट्रम्पसँग ‘राम्रो वार्ता’ भएको जनाएकी थिइन्।
उनले लेखेकी छन्, ‘ईयू र अमेरिकाबीच संसारको सबैभन्दा महत्त्वपूर्ण र नजिकको व्यापार सम्बन्ध छ। युरोप छिटो र निर्णायक ढंगले वार्ता अगाडि बढाउन तयार छ। राम्रो सम्झौतामा पुग्नका लागि हामीलाई जुलाई ९ सम्मको समय आवश्यक छ।’
यो खवरपछि सोमबार एशियाली सेयर बजारमा सुधार आएको छ। जापानको निक्केई २२५ सूचकांक ०.८ प्रतिशतले बढेको छ। दक्षिण कोरियाको कोस्पी ०.९ प्रतिशतले उकालो लागेको छ। चीनको शाङ्घाई कम्पोजिट ०.३ प्रतिशतले बढेको छ। ताइवानको ताइएक्स र अस्ट्रेलियाको एसएन्डपी/एएसएक्स २०० भने स्थिर छ। हङकङको ह्याङ सेङ्ग इन्डेक्स ०.३ प्रतिशतले घटेको छ।
ट्रम्पले गैर-आर्थिक व्यापार अवरोधप्रति विशेष चासो राख्दै आएका छन्। उनी व्यापार घाटा हुने देशहरू वा व्यापारिक समूहहरूप्रति सधैं आलोचनात्मक रहँदै आएका छन्।
अमेरिकी वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार गत वर्ष अमेरिका र ईयूबीचको व्यापार घाटा २३६ अर्ब डलर थियो।
आइतबार ट्रम्पले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले कपडा उद्योग अमेरिका फर्काउनु आवश्यक छैन भन्ने विचारप्रति पनि सहमति जनाएका थिए।
उनले भने, ‘हामी जुत्ता र टिसर्ट बनाउनेतर्फ लागेका छैनौं। हामी सैन्य उपकरण बनाउन चाहन्छौं। हामी ठूला चीजहरू बनाउन चाहन्छौं। हामी कम्प्युटरमार्फत ‘एआई’ मा लाग्न चाहन्छौं।’










