.jpg)
काठमाडौं। तीन महिनाको अवधिमा बाणिज्य बैंकहरुबाट २४ अर्ब ४८ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ। गत पुस मसान्तमा २८ वटा बाणिज्य बैंकहरुको निक्षेप २६ खर्ब ५५ अर्ब रुपैयाँ थियो। चैत मसान्तसम्म आउँदा घटेर २६ खर्ब ३० अर्बमा झरेको छ।
१२ वटा बाणिज्य बैंकहरुको निक्षेप घटेको छ। एनआइसी एशियाको मात्रै २१ अर्ब रुपैयाँले निक्षेप घटेको छ। प्राइम बैंकको ८ अर्ब रुपैयाँले निक्षेप बाहिरिएको छ। विदेशबाट ऋण ल्याएको एनएमबी बैंकको भने ५ अर्ब रुपैयाँले निक्षेप बढेको छ। अन्य केही बैंकले भने निक्षेप बढाएका छन्।
निक्षेप घटेसँगै ऋण लगानी पनि निकै सुस्त देखिएको छ। तीन महिनाको अवधिमा बाणिज्य बैंकहरुले दुई अर्ब ३४ करोड रुपैयाँले ऋण लगानी बढाएका छन्।
पुसमा बाणिज्य बैंकहरुको ऋण लगानी २३ खर्ब ६४ अर्ब रुपैयाँ थियो। अहिले थोरै बढेर २३ खर्ब ६७ अर्ब रुपैयाँ रुपैयाँ पुगेको छ। निक्षेप तथा ऋण लगानी घटेसँगै बैंकहरुले स्प्रेडदर बढाएर नाफा सुधार गरेका हुन्।
सरकारले पूँजीगत खर्च गर्न नसक्दा बजारमा नगद प्रवाह कम हुँदै गएको छ। तेस्रो त्रैमाशिक अवधिमा कर तथा राजस्वबाट उल्टै सरकारी ढुकुटीमा पैसा थुप्रिएर समस्या आएको छ। निक्षेप घटेसँगै बैंकहरुले माग अनुसार ऋण लगानी विस्तार गर्न सकेका छैनन्।
नाफा बढ्यो
बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको नौ महिनामै ४५ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। बैंकहरुले गत वर्षको तुलनामा यस वर्ष २७.६६ प्रतिशतले नाफा बढाएका हुन्। गत वर्षको यहि अवधिमा बाणिज्य बैंकहरुले ३८ अर्ब ६ करोड रुपैयाँ नाफा गरेका हुन्।
पुसको तुलनामा चैतमा १४ अर्ब ८४ करोड रुपैयाँ नाफा बढेको छ। यो भनेको ४८ प्रतिशतको वृद्धि हो।
सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा राष्ट्रिय बाणिज्य बैंकले तीन अर्ब ४९ करोड रुपैयाँ गरेको छ। निजी क्षेत्रको नबिल बैंकले तीन अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको गत बर्षको भन्दा ९ प्रतिशतले घटेर दुई अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको छ।
तीन बाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र सेञ्चुरी बैंकको नाफा घटेको छ। सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा मेगा बैंक छ। गत वर्षको तुलनामा मेगा बैंकले १३१.३३ प्रतिशतले नाफा बढाएको छ। बैंकले नौ महिनामा एक अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ।
बैंकहरुले ऋणीलाई स्प्रेड दरमा कसेका छन्। आधार दर घट्दै गएपनि आम्दानी बढाउन ऋणीसँग लिने प्रिमियम बढाएर लगेका छन्। यसले गर्दा बैंकहरुको नाफा झन् उच्च हुँदै गएको छ।
खराव कर्जा
पूँजी बृद्धिसँगै ऋण लगानीमा आक्रमक देखिएका बाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै गएको छ। गत असारयता अधिकांस बैंकहरुको खराव कर्जा बढ्दो क्रममा छ। असारको तुलनामा ९ वटा बाणिज्य बैंकहरुले खराव कर्जा सुधार गरे पनि बाँकी बैंकहरुको बढेको छ।
खराब कर्जा बढ्दै गर्दा धेरैजसो बाणिज्य बैंकको नाफाको वृद्धिदरमा प्रभाव पारेको छ। खराव कर्जा बढ्दा नेपाल इन्भेष्टमेन्ट बैंक र सिभिल बैंकको नाफामा सबैभन्दा धेरै प्रभाव पारेको छ।
दुई प्रतिशतभन्दा माथि खराब कर्जा हुने बैंक अफ काठमाण्डू, प्रभु बैंक, नेपाल बैंक, एनसिसी बैंक, कृषि विकास बैंक र बाणिज्य बैंक रहेका छन्। तीन सरकारी बाणिज्य बैंकहरु राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराव कर्जा क्रमश ४.२८, ४.२२ र २.७१ प्रतिशत छ।










