
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन्।
मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको बताएका हुन्।
केही समय अघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गभर्नर नियुक्तिको प्रकरण जोड्दै बिचौलिया प्रधानमन्त्रीको बेडरुमसम्म पुगेको आरोप लगाएका थिए। आज ओलीले थापालाई जवाफ फर्काउँदै आरोप प्रमाणित गर्न चुनौती दिएका हुन्।
सम्बन्धित समाचार : गभर्नर नियुक्तिमा बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो : गगन थापा
सो कार्यक्रममा उनले एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको भन्दै स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको समेत बताए।
‘झुटा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन। हामीले देश बर्बाद बनाइरहेका छौं। हामीले कुनै अपराध गरिरहेका छौं,’ ओलीले भने, ‘आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन्। तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन। एमालेले आफूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छ। हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौं।’
यस्तै, उनले कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी पनि गरे।
पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुुझाव पनि दिएका छन्।
‘पार्टीभित्र एकताको चेत चाहिन्छ। विरोधीको आरोपको खण्डन गर्नुपर्छ। विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,’ उनले भने।