
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनआक्रोशलाई बेवास्ता गर्न थालेका छन्। पटक-पटक पार्टी र सरकारको नेतृत्वमा पुगेका नेताहरूप्रति चर्को आक्रोश व्यक्त भइरहेका बेला ओलीले आफ्नो राजनीतिक बहिर्गमनबारे नसोच्न चेतावनी नै दिए।
तीन पटक प्रधानमन्त्री र दुई पटक नेकपा (एमाले)को अध्यक्ष भइसकेका ओलीले अझै सरकार र पार्टी नेतृत्वमा आफ्नो विकल्प नभएको दाबी प्रस्तुत गरे। ओलीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्षौँदेखि नेतृत्वमा छन्। युवा पुस्ता पुरानो नेतृत्वप्रति आक्रोशित छ। सत्तारुढ कांग्रेस-एमाले नै ओलीप्रति असन्तुष्ट छन्। सडकमा दैनिक सरकार विरुद्ध प्रदर्शन छ।
तर, ओली उक्त आक्रोशप्रति गम्भीर छैनन्। ‘ओली बिनाको एमाले र एमाले बिनाको नेपाल चाहियो रे उनीहरूलाई, ड्राइभरलाई गाडी चलाउन नदिने? अनि चलाउनै नसिकेकालाई दिने? त्यस्ताले त्रिशूलीमा खसाउँदैनन्?,’ आफ्ना आलोचकलाई ओलीले भने।

‘अझै २५ वर्ष नेतृत्वमा निरन्तर’
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ओलीले आफू फेरि पनि नेतृत्वमा दोहोरिनका लागि तयार रहेको सन्देश दिए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘ओलीको स्वास्थ्य र उमेरलाई लिएर पार्टी पंक्तिमा चिन्ता छ’ भन्दै नेतृत्वका लागि आफू तयार रहेको सन्देश पछिल्लो समय सार्वजनिक गरिरहेकी छिन्।

भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउन एमालेका केही नेता सक्रिय छन्। जसप्रति ओली आक्रोशित छन्। ‘पोहोर परार बिरामी थिएँ। अहिले बिरामी छैन, अब मलाई बिरामी नै देख्न मन छ भने २०/२५ वर्ष पर्खिनुस् न बाबा,’ उनले भने।
‘१५ महिना म नै प्रधानमन्त्री’
सरकार परिवर्तनको चर्चा चल्नासाथ ओलीले सत्ता साझेदार दल कांग्रेसलाई विश्वस्त तुल्याउने प्रयास आफू प्रधानमन्त्री बनेदेखि नै गरिरहेका छन् ।
२०८१ असार देखि २०८३ असारसम्म आफू र त्यसपछि २०८४ को चुनावसम्म देउवा प्रधानमन्त्री हुने सहमति पालना गर्न आफू दृढ रहेको सन्देश ओलीले पटक पटक दोहोर्याइरहेका छन्।
प्रचण्डले पछिल्लो समय कांग्रेस नेतृत्वमा सरकार बने त्यसलाई आफ्नो समर्थन हुने प्रस्ताव गरिरहेकोप्रति पनि ओलीले कटाक्ष गरे। उनले अब डेढ वर्षपछि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न प्रचण्डलाई आग्रह गरे।

‘मैले भन्ने गरेको छु त राजीनामा १५ महिनापछि आउँछ भनेर। १५ महिना पर्ख न मेरो राजीनामा हेर्न मन छ भने,’ ओलीले भने।
देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणाको विदेश भ्रमणलाई लिएर सरकारको आयुबारे टिप्पणी भइरहेको छ। ओलीले त्यसलाई अनावश्यक शंका मात्रै भएको बताए। ‘आरजुजीको मिटिङ थियो एउटा, सँगसँगै शेरबहादुरजीको स्वास्थ्य परीक्षण थियो। त्यसका लागि बैंकक जानुभयो। कांग्रेस र एमाले मिल्न हुँदैन भनेर भन्ने मान्छे नभेटाएर जानुभएको हो? यहाँ सुनेको छैन, ‘हामी सहयोग गर्छौं तपाईं नै सरकार चलाउनुस्’ भन्ने मान्छे,’ ओलीले भने।
आफ्नै निकटहरूसँग गुनासो
ओलीले एक घण्टा लामो सम्बोधनका क्रममा आफू नेतृत्वको सरकारलाई अप्ठेरो परिरहेको संकेत पटक/पटक गरे। उनले घेराबन्दीको प्रयास भएको, तर आफू निकटहरू मौन रहेको गुनासो गरे। ‘साथीहरूमा अलिकति आत्मविश्वासको कमी भएको हो कि। एकताको भावना हामी कहाँ छौं? के गर्दैछौं भन्ने बिर्सन खोजेको हो कि? हाम्रो भाव र उद्देश्य बिर्सन खोजेको हो कि? हाम्रो गन्तव्य बिर्सन खोजेको हो कि? साथीहरूलाई लिडरसिपप्रतिको विश्वासमा कमी आएको हो कि,’ आफ्नो पार्टीका नेताहरूलाई प्रश्न गर्दै उनले भने।

पूर्व सहकर्मी माधवकुमार नेपाल, झलनाथ खनाल र प्रचण्डप्रति ओलीले पहिले पहिलेको जस्तै तिखो टिप्पणी मंगलबार पनि गरे। उनले कम्युनिस्ट एकतामा आफूबाहेक तीन जनाले भाँजो हालेको टिप्पणी गर्दा नेता कार्यकर्ताले भने ओलीको उक्त बोलीलाई त्यति मन पराएका थिएनन्।

कार्यक्रममा ओलीले भाषण गरिरहेकै बेला पनि एमाले नेता कार्यकर्ताहरूले पहिलेझैं समर्थन जनाएको देखिएको थिएन। उनी बोलिरहेको बेला पनि नेता कार्यकर्ताहरू हलबाहिर गइरहेका थिए।
‘भारतको समर्थन मलाइ छ’
आफू नेतृत्वको सरकारलाई देश विदेशबाट प्रहार भइरहेको बताएका ओलीले भारत र चीनको समर्थन आफूलाई भएको दाबी गरे। ‘हाम्रा छिमेकीको साथ समर्थन हामीलाई छ। छैन कसले भन्यो? मोदी र मेरो लामो कुराकानी भएको छ। बहुत राम्रो कुरा भएको छ,’ उनले भने।
उनले भारतमा संस्थापनसँग आफ्नो सम्बन्ध राम्रो बन्दै गएको दाबी गरेका थिए। त्यस क्रममा उनले भारतले लगाएको नाकाबन्दीको चर्चा गरेका थिए भने सन्तुलित परराष्ट्र सम्बन्ध बनाउने प्रयास भइरहेको बताए।