शिक्षामन्त्रीको राजीनामा प्रकरणमा मिडियासँग ओली आक्रोशित, ‘यस्तो दुस्मनी के कारणले हो?’

बिजमाण्डू
२०८२ बैशाख ९ गते १६:१५ | Apr 22, 2025
शिक्षामन्त्रीको राजीनामा प्रकरणमा मिडियासँग ओली आक्रोशित, ‘यस्तो दुस्मनी के कारणले हो?’


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएको विषयमा आफूलाई मुछेको भन्दै संचार माध्यममाथि आक्रोश पोखेका छन्।

Tata
GBIME
NLIC

उनले मंगलबार नेकपा एमालेले काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएको भन्दै त्यसलाई बेवास्ता गरी संचार माध्यमले आफूले असहयोग गरेको भनेर हेडलाइन बनाएकामा आक्रोश पोखेका हुन्।

‘मैले बनाएको मन्त्री, मैले काम लगाइराखेको छु, सहयोग गरिराखेको छु, सिकाइराखेको छु, अस्ति भर्खर घाँटीको अप्रेसन गर्नुभएको थियो,’ उनले भने, ‘धेरै ठूलो मन्त्रालय छ शिक्षा मन्त्रालय। सजिलो पनि छैन। उहाँले स्वास्थ्यको कारण देखाउनुभएको छ। तर सबैको हेडलाइन मेराविरुद्ध। यस्तो दुस्मनी के कारणले हो? सबैले एकै ठाउँमा बसेर सल्लाह गरेर योजनावद्ध रुपमा लेखेका छन्।’

भट्टराईले सोमबार राजीनामा दिएकी थिइन्। लगत्तै पूर्वशिक्षामन्त्री एवं रास्वपा नेतृ सुमना श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा आउनुपर्नेमा शिक्षामन्त्रीको आएको अभिव्यक्ति दिएकी थिइन्। ओलीले सुमनालाई ‘प्रधानमन्त्रीको राजीनामा १५ महिनापछि आउँछ। १५ महिना पर्ख’ भनी जवाफ फर्काए।