सडक खनेर विस्तार भइरहँदा दाउन्नेमा सुक्खा पहिरो, यातायात सेवा अवरुद्ध



बिजमाण्डू
२०८२ बैशाख ९ गते १४:५३ | Apr 22, 2025
सडक खनेर विस्तार भइरहँदा दाउन्नेमा सुक्खा पहिरो, यातायात सेवा अवरुद्ध

काठमाडौं । सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ।

Tata
GBIME
Nepal Life

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए।

अहिले दाउन्ने क्षेत्रमा सयौं सवारीसाधन जाममा परेका छन्। पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले जानकारी दिए।

दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो। त्यसैमाथि आज सुक्खा पहिरो खसेको हो। दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ। रासस