
काठमाडौं । भारतका ऊर्जा, सहरी आवास तथा संसदीय मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन्। दुई दिने नेपाल भ्रमणको सिलसिलामा उनी आज बिहान काठमाडौं आएका हुन्।
ऊर्जा मन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आएका हुन्। खट्टर गत फेब्रुअरी अन्तिम सातामा नेपाल आउने तयारी थियो। तर, त्यस बेलामा ओसिडाको एक विद्यालयमा नेपाली विद्यार्थीको मृत्यु भएपछि भारतीय दूतावासको सुझावमा भ्रमण रोकिएको थियो।
खट्टरले मंगलबार भ्रमणका क्रममा भारतको सहयोगमा निर्माण भइरहेको प्रसारणलाइनको उद्घाटन र अरुण-३ जलविद्युत आयोजनाको अवलोकन गर्ने कार्यतालिका छ।

खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोशी करिडोर २२० केभी प्रसारणलाइन अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०-१३३-३३ केभी तुम्लिङटार सवस्टेशन, २२०-३३ केभी बानेश्वर सवस्टेशन र २२०-१३३-३३ केभी वसन्तपुर सवस्टेशनको उद्घाटन गर्नेछन्। संखुवासभाबाट साँझ उनी काठमाडौं फर्किने तालिका छ।
संखुवासभामा उनले भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन पनि गर्नेछन्। त्यसक्रममा दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेका प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।

यसका लागि गत शुक्रबार बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले हस्ताक्षर गर्ने अधिकार कार्यकारी निर्देशकलाई दिने निर्णय गरिएको थियो।
गत माघमा भारतको दिल्लीमा बसेको नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकले इनरुवा-न्यू पूर्णिया र दोदोधारा-बलेरीबीचको ४०० किलोभोल्ट (केभी) क्षमताको अन्तर्देशीय प्रसारणलाइनको निर्माण गर्ने निर्णय गरेको थियो। खट्टरको नेपाल भ्रमणको क्रममा एमओयु हुने जनाइएको छ। यी दुई प्रसारण लाइन क्रमश: सन् २०२८/ २९ र २०२९/३० सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

खट्टर बुधबार बिहान मुस्ताङको मुक्तिनाथ पनि जानेछन्। त्यहाँबाट फर्किएपछि उनी पशुपतिनाथ मन्दिरको दर्शनका लागि पुग्नेछन्।
बुधबार दिउँसो उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनी स्वदेश फर्कने कार्यक्रम छ।


