
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा फाइनल पुगेको टोली ललितपुर सिटी एफसीले रेफ्रीको गलत निर्णय विरुद्ध अपिल गर्ने भएको छ। शनिबार भएको पहिलो क्वालिफायरको खेलमा दुई रेडकार्ड ब्यहोरेको ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने जनाएको हो।
‘प्रतियोगिताको स्तर बढाउन टिमको हिसाबले हामीले धेरै मेहनत गर्यौ। तर एनएसएस खेलाउने रेफ्रीको स्तरनै भएन।’ ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीले भने, ‘रेफ्रीको गलत निर्णयका कारण हाम्रा दुई महत्वपुर्ण खेलाडीले रातो कार्ड पाएका छन्। यो गलत निर्णयको विरुद्धमा हामीले कडा अपिल गर्नेछौं।’
यसअघि एफसी चितवन र पोखरा थण्डर्सका प्रशिक्षकले रेफ्रीको गलत निर्णयले लिगको नतिजा प्रभावित भएको दाबि गर्दै उनीहरुको फिटनेसदेखि निर्णय क्षमतासम्ममा प्रश्न उठाएका थिए। त्यस्तै, एफसी चितवनका मालिक सचिन ढकालले सामाजिक सञ्जालमा रेफ्रीले आफ्नो क्षेत्रको टोलीलाई फेभर गरेको आरोप लगाएका थिए।
शनिबार सम्पन्न खेलमा धनगढी एफसीलाई २-१ गोलले हराउँदै चितवन फाइनल पुगेको छ। तर, पहिलो क्वालिफायर खेलमा दुई रातो कार्डका कारण फाइनल खेल अघिनै टिमलाई ठुलो झट्का लागेको छ। अर्थात ललितपुरका महत्वपूर्ण दुई खेलाडी मणीकुमार लामा र पापे डियाकेटेले रेडकार्ड ब्यहोरेका थिए।
यसमा पनि खासगरी मणीकुमार लामाको रेडकार्ड विवादास्पद बनेको छ। खेलको १७ औँ मिनेटमा धनगढीका मोहमद अल जाउनीबाट खराब ट्याकल ब्यहोरेका ललितपुरका मणिकुमार लामाले उल्टै रातो कार्ड पाएका थिए।
त्यस्तै खेलको अन्तिममा मैदानमा धक्कामुक्कीको अवस्था बनेपछि रेफ्री उमेश बिडारीले ललितपुरका पापे डिकेटलाई रातो कार्ड देखाएका थिए। खेल सकेर मैदान बाहिर निस्किएका बिडारीले ललितपुरका कप्तान अनन्त तामाङलाई समेत पहेलो कार्ड दिए। रेफ्रीबाट गरिएको गलत निर्णयको ललितपुरले विरोध गरेको छ। उसले रेफ्रीको स्तरमाथि गम्भिर प्रश्न उठाउँदै निर्णयविरुल अपिलमा जाने बताएको हो। अर्कोतर्फ धनगढीका काइसेडोले पनि खेलपछि रेडकार्ड ब्यहोरेको भएता पनि अपिल गर्नेबारे धनगढीले आधिकारिक धारणा दिएको छैन।