फेसबुकको माउ कम्पनी मेटासँग सञ्चार सचिवले गरिन् भर्चुअल संवाद, दर्ताबारे आएन ठोस जवाफ

बिजमाण्डू
२०८२ बैशाख ५ गते १२:३६ | Apr 18, 2025
फेसबुकको माउ कम्पनी मेटासँग सञ्चार सचिवले गरिन् भर्चुअल संवाद, दर्ताबारे आएन ठोस जवाफ


काठमाडौं। सरकारले फेसबुकको माउ कम्पनी मेटासँग नेपालमा दर्ता हुनुपर्ने विषयलाई लिएर भर्चुअल संवाद गरेको छ।

Vigo
GBIME
Tata

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल नेतृत्वको टोलीले मेटाको सिंगापुरस्थित कार्यालयका पब्लिक पोलिसी म्यानेजर रुझान सर्वारसहितको टिमसँग छलफल गरेको हो।

छलफलमा सहभागी मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले मेटाका प्रतिनिधिसँग जुममा भएको भर्चुअल संवादमार्फत नेपालमा दर्ताका लागि आग्रह गरेको जानकारी दिए।

‘नेपालको कानुनअनुसार मेटाले सञ्चालन गरिरहेका सामाजिक सञ्जाल दर्ताका लागि आग्रह गर्‍यौं। हामीले विद्यमान कानुनबारे जानकारी गराउँदै तोकिएको समयमै दर्ता हुनुपर्छ भनेका छौं,’ ठाकुरले बिजमाण्डूसँग भने।

मेटाको टोलीले भने नेपालमा दर्ताको विषयमा ठोस जवाफ नदिएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ। मेटाको टोलीले नेपालमा दर्ताका लागि गरिएको आग्रहबारे उपल्लो तहसँग छलफल गर्नुपर्ने बताएको छ।

पछिल्लो समय सञ्चार मन्त्रालयले चैत ७ गते सूचना जारी गर्दै सूचीकृत नभएका सामाजिक सञ्जाललाई दर्ता हुन एक महिनाको समय दिएको थियो। त्यो समय आइतबार सकिंदैछ। सञ्चार मन्त्रालय मेटाको जवाफको प्रतीक्षामा छ।

मेटाअन्तर्गतका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र मेसेन्जर हुन्।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयमा सामाजिक सञ्जालहरु दर्ता नभए बन्द गर्ने चेतावनी दिँदै आएका छन्। मन्त्रालयकाअनुसार अहिलेसम्म भाइबर, टिकटक र वीटक मात्र दर्ता भएका छन्।

मन्त्रालयले २०८० मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याउँदै सामाजिक सञ्जाल दर्तालाई अनिवार्य गरेको छ।