
काठमाडौं। वैशाख ३ गते बाराको बडहर्वा जाने क्रममा कांग्रेस महामन्त्री गगन थापालाई स्वागत गर्न कार्यकर्ताहरु एक हजारभन्दा बढी मोटरसाइकलमा सिमरा विमानस्थल आइपुगे। थापा सिमरा विमानस्थलबाट बाहिर ५०० मिटर पैदल हिँडे।
पार्टीको बारा-३ समितिले गरेको कार्यक्रमस्थलमा पुग्न गगन सवार कारलाई स्थानीय नेता कार्यकर्ताका २० भन्दा बढी गाडीले स्कर्टिङ गरे। भिडियो गगनले भोलिपल्ट मिसन पीएम पेजमार्फत सार्वजनिक गरे।
‘गगन मास कुलर लिडर भएकोले विपक्षीलाई देखाउन भए पनि जिल्लाभरका नेता कार्यकर्ता स्वागतमा उर्लिए,’ आयोजक क्षेत्र नम्बर ३ का सभापति प्रभातकुमार चौरसियाले भने।

बारामा नेपाली कांग्रेसको अवस्था कमजोर छ। त्यसैले जनतालाई पार्टीप्रति आकर्षित गर्न गगनलाई प्रमुख अतिथिको रुपमा डाकेको चौरसियाको भनाई छ। ‘कार्यक्रममा ५ हजारभन्दा बढी मानिस सहभागी भए,’ चौरासियाले भने, ‘हामी जिल्लामै पहिलोपल्ट कांग्रेसको भव्य कार्यक्रम गर्न सफल भयौं।’
हिन्दी फिल्म दबंगका खलनायक जयकान्त सिक्रेको झल्को लाग्ने लाग्ने खालको दृश्य गगनको अगाडि पछाडि देखिएको बारामा मात्र होइन। त्यसअघि उनी भोजपुर पुग्दाको तामझामको दृश्य देख्नेहरुले पनि दबंग फिल्म सम्झिएका थिए।
धनकुटा हुँदै चैत २९ गते भोजपुर पुग्दा गगनलाई बाजागाजासहित केन्द्रीय सदस्य उमेशजंग रायमाझीले स्वागत गरेका थिए।
भोजपुर बजार पुग्ने नागबेली बाटोमा तरुण दलका कार्यकर्ताले मोटरबाइकको र्यालीसहित स्कर्टिङ गरेको भिडियोलाई पनि गगनले आफ्नो ‘अभूतपूर्वक सम्मान’का रुपमा लिंदै मिसन पीएम पेजमा सेयर गरेका छन्।
केही समययता गगन देश दौडाहामा छन्। उनी माघयता रुपन्देही, पाल्पा, सल्यान, रोल्पा, प्युठान, कास्कीलगायत विभिन्न जिल्ला पुगे। ती जिल्लामा उनलाई गरिएको स्कर्टिङ र स्वागतको दृष्य दक्षिणी भारतीय फिल्मको भन्दा कम लाग्दैन।

गगन युवामाझ लोकप्रिय नेता हुन्। १३औं महाधिवेशनमा भृकुटीमण्डपमा एलइडी बोर्ड राखेर र्याप बजाएसँगै युवा महाधिवेशन प्रतिनिधि उनीतिर झुम्मिएका थिए। त्यतिबेला उनी कृष्णप्रसाद सिटौलासँग मिलेर महामन्त्रीको उम्मेदवार बनेका थिए।
कांग्रेस महाधिवेशनमा सबैभन्दा पहिले र्याप भित्र्याउने नेता सायद गगन पहिलो हुनुपर्छ। युवाका ढुकढुकीका रुपमा हेरिने गगन पुग्ने हरेकजसो कार्यक्रममा कार्यकर्ताको भिड नै लाग्छ।
परम्परागत ढर्रा र नेताको पुरानो शैलीको विरोधका साथै खरो प्रश्न गरेकै कारण उनी युवामाझ छाएको कांग्रेसकै कार्यकर्ता बताउँछन्। ‘उहाँको भाषणबाट अरु पार्टीका नेता पनि प्रभावित हुन्छन्, आमसभामा धेरै मानिस ओइरिन्छन्,’ बाराका क्षेत्रीय सभापति चौरसियाले भने।
तामझाम गर्न नहुने, रवाफ देखाउन नहुने भनेर चर्चामा आएका गगनले करिब ९ वर्षअघि स्वास्थ्यमन्त्री भएका बेला बाँकेको कोहलपुर पुग्दा ५१ किलोको माला लगाएका थिए। २०७३ असोज १३ मा स्वास्थ्य मन्त्रालयको क्षेत्रीय समीक्षा गोष्ठीका लागि जाँदा कांग्रेसको कोहलपुर नगर समितिले गह्रुँगो माला लगाइदिएको थियो।
माला पहिरिएको विषयलाई लिएर गगनले चर्को आलोचना खेपे। त्यसपछि उनले सामाजिक सञ्जालमार्फत ‘मलाई कोहलपुरमा ठूलो माला पहिर्याइयो। मलाई यस्तो कुरा कहिल्यै मन परेन। र, विनम्रपूर्वक तत्काल हटाउन लगाएँ। मञ्चमा पुगेपछि कार्यक्रम आयोजना गर्ने साथीहरु खोज्न लगाएँ। अनि मञ्चमा बोलाएर यस्तो नदोहोर्याउन आग्रह गरें। के गर्ने/नगर्ने सबै मलाई थाहा छ, मालाको विषयमा चिन्ता गर्ने सबैलाई धन्यवाद’ भनेका थिए।
उनै गगनले अहिले जिल्ला दौडाहामा निस्कँदा आफ्नो स्वागतमा कार्यकर्ताको लावालस्कर लगाएर ‘जयकान्त सिक्रे’को झल्को दिइरहेका छन्।
केन्द्रीय सदस्य रंगमती शाहीका अनुसार गगनको पछिल्लो दौड सभापतिको तयारीका लागि हो। ‘महामन्त्रीप्रति युवाहरुको क्रेज देखिन्छ,’ कर्णालीमा आयोजित पछिल्ला कार्यक्रमहरुमा सहभागी शाहीले भनिन्।
सभापतिमा उम्मेदवारी दिने तयारीकै कारण होला, भड्किलो स्वागतमा उत्रिने कार्यकर्तामाझ गगनले ९ वर्षअघि जस्तो ‘मलाई यस्तो मन पर्दैन’ भनेका छैनन्। उनले त्यस्ता स्वागतका भिडियो सेयर गरेर कार्यकर्तालाई को भन्दा को कमको शैलीमा उत्रिन उक्साइरहेका छन्।
‘देशभर भ्रमणका योजना छन्। हप्तामा ४ दिन काठमाडौं, बाँकी दिन जिल्ला जाने कार्यक्रम तय भएको छ। सभापतिको दौडमा रहेका नेताले कार्यकर्तालाई मन खिन्न गर्ने गर्ने कुरा भएन। स्वागत त जतासुकै पनि भव्य खालकै छ,’ गगन निकट एक केन्द्रीय सदस्यले भने।
दबंग शैली किन ?
गगन पछिल्लो समय पुराना पुस्ताका नेतालाई माथ खुवाउने शैलीमा प्रस्तुत भएका देखिन्छन्। उनी बाराको कार्यक्रममा पुग्दा सहमहामन्त्री फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी पनि स्वागतमा देखिएका थिए। कार्यक्रममा नेता कार्यकर्ताको उपस्थितिलाई गगनले साढे एक मिनेटको भिडियोमा दबंग शैलीमा प्रस्तुत गरेका छन्।
मिसन पीएम फेसबुक पेजमा गगनले आफूलाई केन्द्रमा राखेर भिडियो पोस्ट गरेका छन्। ‘हिन्दीमा एउटा कहावत छ नि, मे जहाँ खडा होता हुँ वहीसे लाइन सुरु होता हे,’ गगनकै बोली राखेर दबंग शैलीको भिडियो पोस्ट गरिएको छ।

बारा पुग्दा होस् या भोजपुर, गगनले आफूलाई केन्द्रमा राखेर बनाएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्न छुटाएका छैनन्। टिकटकमा गगन थापा न्युज, गगन थापा फ्यान, नेपाली कांग्रेस – एनसीजस्ता एकाउन्टबाट उनका दबंग शैलीको भिडियो पोस्ट हेर्न सकिन्छ।
गगनको सचिवालयले भने भिडियोलाई उनीप्रति कार्यकर्ताको क्रेजको उदाहरण भनेको छ। सुशील कोइराला सभापति रहेका बेला गगन केन्द्रीय सदस्य थिए। त्यतिबेला गगनको पक्षमा सुशीलतिर भन्दा बढी भिड उर्लँदा केन्द्रीय समितिमै प्रश्न उठेको थियो।
‘केन्द्रीय सदस्य हुँदा नै उहाँको पक्षमा माहोल थियो। त्यतिबेला याद गरिन्नथ्यो होला। सुशील कोइरालाको भन्दा गगन थापाको पक्षमा धेरै भिड भयो भनेर केन्द्रीय समितिमा पनि प्रश्न उठ्थ्यो,’ गगनको सचिवालयका एक सदस्यले भने, ‘अहिले त महामन्त्री हुनुहुन्छ। नेता कार्यकर्ता पछाडि लाग्नु स्वाभाविक नै हो।’
१५औं महाधिवेशनमा नेतृत्व दाबी गर्दैगर्दा यस्तो तयारी चाहिने गगनको सचिवालयको तर्क छ। प्रतिस्पर्धीलाई मानसिक दबाब दिन पनि सुझबुझ पुर्याएरै यस किसिमको प्रचार गरिरहेको उनीहरु बताउँछन्। ‘नेतृत्वको दाबी गर्ने प्रतिस्पर्धीलाई साइकोलोजिकल्ली थ्रेट गर्न पनि दबंग शैली अपनाइएको हो,’ गगन निकट एक केन्द्रीय सदस्यले भने।
‘भिडले मुखुन्डो उतार्छ’
समाजशास्त्री दीपेश घिमिरे मूलधारका धेरै नेताहरुले अहिले सामाजिक सञ्जालबाट आफ्नो छाप देखाउन प्रयास जारी राखेको बताउँछन्।
‘कुनै बेला नेपालमा विद्यार्थी नेताहरु विद्यार्थीका मुद्दा भन्दा पनि रत्नपार्कमा भाषण गरेर उदाए। रत्नपार्कमा भाषण गरेर उनीहरु मेसेज कन्भे गर्थे,’ घिमिरले भने, ‘अहिले रत्नपार्कको ठाउँ सामाजिक सञ्जालले लिएको छ। यही माध्यम उपयोग गरेर आफ्नो दृष्टिकोण/मुद्दा समाजमा लैजान थालेका छन्।’
काठमाडौंका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी सामाजिक सञ्जाल प्रयोग गरेर शक्तिमा आएकाले मूलधारका नेताहरु पनि यहीबाट प्रभावित बनेको घिमिरेको बुझाई छ। यद्यपि यो प्रयोगमा समन्वय र व्यवस्थापन गर्ने नसके आफैंलाई भारी पर्ने उनी बताउँछन्।
‘आफ्नो स्वागतमा लावालस्कर लगाउने प्रवृत्तिले आफैंलाई हानी हुन्छ। आफ्नो पपुलारिटी समन्वय गर्न नसके यो आफैंलाई भारी पर्न सक्छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले यो भोगिसकेका छन्। भिडले जे खोज्यो त्यही गर्न खोज्ने धेरैको त्यही भिडले मुखुन्डो उतार्छ,’ घिमिरेले भने, ‘लिडर भनेको इन्स्टिच्युट पनि हो। त्यसैले एउटा प्रोटोकल वा गाइडलाइन बनाउनैपर्छ। सम्भावना बोकेका नेताले भिडलाई मेसेज दिन सक्नुपर्छ।’
गगन अहिले रमाइरहेको दृष्यलाई कुनै कोणबाट पनि सकारात्मक मान्न सकिंदैन। यसले एकातिर नेताहरुको चाकडी गर्ने प्रवृत्ति मौलाउनेछ भने अर्कातिर गाडी र बाइक नहुने कार्यकर्ताको पार्टी नेतृत्वसँगको दूरी अझै बढेर जानेछ। साथै यस्तो अस्वाभाविक स्वागतले पार्टीका कार्यकर्तालाई थप भ्रष्टीकरणको बाटोमा लानेछ।