एरो फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

बिजमाण्डू
२०८१ चैत्र २९ गते १३:३७ | Apr 11, 2025
एरो फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल


काठमाडौं। एरो फर्मास्युटिकल्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति सेयर १०० रुपैयाँ मूल्य अंकित १५ लाख कित्ता आइपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

Tata
GBIME
NLIC

आइपीओ जारी गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सम्झौता भएको छ।

सम्झौतामा एरो फर्मास्युटिकल्सका संचालक समितिका अध्यक्ष उद्धव प्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले बिहीबार हस्ताक्षर गरेका छन्।

अधिकृत पुँजी १ अर्ब रुपैयाँर जारी पुँजी ७५ करोड रुपैयाँ रहेको यस फर्मास्यूटिकल्सको कर्पोरेट अफिस काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धरामा छ। त्यस्तै, भक्तपुरको सुडालमा औषधि उत्पादन गर्ने कारखाना छ।

कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी तथा ख्यातीप्राप्त व्यक्तित्वको लगानी छ। कम्पनी आर्थिक वर्ष २०७१/०७२ मा प्रालिका रुपमा स्थापना भई आर्थिक वर्ष २०८०/०८१ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो।

विगत ५ वर्षदेखि विभिन्न प्रकारका ट्याब्लेट्स, क्याप्सुल्स, ओइन्टमेन्ट, एक्स्टर्नल लिक्विड, ड्राइ सस्पेन्सन र पाउडर औषधिहरू उत्पादन तथा बिक्री गर्दै आएकोमा हाल कम्पनीका १०७ ब्रान्डका औषधिहरू बजारमा छन्। कम्पनीले विशेष रुपमा उच्च रक्तचाप/मधुमेहमा प्रयोग हुने एन्टिबायोटिक्स लगायतका गुणस्तरीय औषधिहरूको उत्पादन गर्छ।

कम्पनीले आफ्नो बजार विस्तारको क्रममा यसै आर्थिक वर्षदेखि जनावरमा प्रयोग हुने भेटेरिनरी औषधिहरूको पनि उत्पादन सुरु गरेको छ। कम्पनीबाट उत्पादित औषधिले नेपालको बजारमा उल्लेख्य हिस्सा ओगटेको कम्पनीको दाबी छ।

निकट भविष्यमा अन्य मुलुकमा पनि निर्यात गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कम्पनीले डब्लुएचओ जीएमपी प्रमाणपत्र हासिल गरेको छ।