.jpg)
काठमाडौं। पर्यटकीय सिजन सुरु भएसँगै लुक्लाको तेन्जिङहिलारी विमानस्थलमा फ्लाइट मुभमेन्टमा वृद्धि भएको छ। तर यसै समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत संभार सुरु हुँदा काठमाडौंदेखि लुक्ला जाने उडानहरु भने प्रभावित हुने भएका छन्।
पिक सिजनमा पर्यटकलाई समस्या हुन नदिन काठमाडौंबाट लुक्ला जाने उडानको रुट बदलेर रामेछापको मन्थली विमानस्थलबाट लुक्ला जाने तयारी उड्डयन प्राधिकरणले गरेको छ।
प्राधिकरणले काठमाडौं-लुक्ला फिक्स विङ उडान रामेछापको मन्थली विमानस्थलबाट गर्ने योजना बनाएको जनाएको छ।
'लुक्ला उडान प्राय बिहानै हुँदै आइरहेको छ। अप्रिल एक तारिखदेखि राती १० बजेदेखि अर्को विहान आठ बजेसम्म विमानस्थल बन्द हुन्छ। यसै कारण एयरलाइन्स कम्पनीले टिआइएको रनवे रिह्याविलीटैसन अवधिभर रामेछापको मन्थली विमानस्थलबाट लुक्ला उडान गर्नेछन्।' प्राधिकरण अन्तर्गत हवाई सेवा सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले भने।
पर्यटकीय चाप बढेपनि बिमानस्थल ब्यवस्थित नहुँदा लुक्ला बिमानस्थलमा हेलिकोप्टर पार्किङ गर्न समस्या देखिएको छ।
दैनिक करिब एक सय ८० वटा हेलिकोप्टरको उडान भइरहँदा लुक्लास्थित विमानस्थलमा अझै पनि हेलिप्याड व्यवस्थापन नभएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
पर्यटकीय सिजन सुरु भएसँगै लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा फिक्सविङ र रोटर विङको दैनिक करिब एक सय ८० वटा उडान अवतरण भइरहेको विमानस्थल प्रमुख इमनाथ अधिकारीले बताए।
उनका अनुसार हाल विमानस्थलमा दैनिक चार वटा फिक्स विङ एयरलाइन्स कम्पनीका जहाज मार्फत करिव ८० वटा र विभीन्न हेलिकोप्टर कम्पनीका करिब एक सय वटा उडान भइरहेको छ।
सिजनमा हेलिकोप्टर संख्या वृद्धि भएतापनि अझैसम्म हेलिकोप्टर पार्किङ व्यवस्थित गर्न नसकेको उनले स्विकारे। मौसमका आधारमा अहिले यहाँ दैनिक एक सय ८० वटासम्म उडान भइरहेको उनले जानकारी दिए।
.jpg)
पाँच महिना अघि नै हेलिप्याड क्षमता विस्तार गर्ने प्रक्रिया सुरु भएपनि अझै काम अघि नबढेको स्रोतले बताएको छ। हेलिप्याड क्षमता विस्तारकालागि कान्छाराम कन्स्ट्रकसनले ठेक्का समेत पाइसकेको छ।
प्राधिकरणले हेलिकोप्टर पार्किङ विस्तारका लागि पौने ११ रोपनीको आफ्नै जग्गामा नयाँ हेली पार्किङ संचालनमा ल्याउनका लागि स्थानीय निकाय र विज्ञसँग छलफल गरिसकेको छ। तर नयाँ हेलिप्याड निर्माण कम्पनीले पाँच महिना बितिसक्दा पनि काम सुरु नगरेको विमानस्थल स्रोतले जनाएको छ।
'प्राधिकरणको आफ्नै जग्गामा निर्माणाधिन नयाँ हेलि पार्किङ अहिले काम चलाउ अवस्थामा छ। पछिल्लो समयमा एयर कन्जेशन बढ्दै गएपछि प्राधिकरणले नयाँ हेलिप्याडमा सोलिङ गरी धुलो नउड्ने बनाएको छ। वरपर छेकबार गरिएको हेलिप्याडमा हेलिकोप्टर कम्पनीले कहिलेकाहिँ आफ्नै रिस्कमा पार्किङ गर्दै आएका छन्। ।' स्रोतले भन्यो।
निर्माण सुरु गरेको नयाँ हेलिप्याड निर्माण गरी पूर्ण रुपमा संचालनमा ल्याउन दुई वर्ष लाग्ने प्राधिकरणले बताएको छ। विमानस्थल प्रमुख अधिकारीका अनुसार नयाँ हेलिप्याड निर्माता कम्पनी कान्छाराम कन्स्ट्रक्सनले केही निर्माण सामाग्री चार महिना अगाडि ल्याएर थुपारेको मात्र छ।
.jpg)
पुरानो हेलिपार्किङमा एकपटकमा चारवटा हेलिकोप्टर पार्किङ क्षमता रहेको छ भने नयाँ पार्किङ संचालनमा आइसकेपछि थप पाँचवटा हेलिकोप्टर पार्किङ गर्न सकिने प्राधिकरणले बताएको छ।
लुक्लामा फिक्सविङतर्फ तारा, सिता, समिट लगायतका एयरलाइन्स कम्पनी र रोटरविङ तर्फ प्रभु, मनाङ एयर, कैलाशएयर, अल्टिट्युड एयरको, हेली एयर ,श्री एयरलाइन्स लगायत हेलिकोप्टर कम्पनीले उडान भर्दै आएका छन्।
विमानस्थल प्रमुख अधिकारीका अनुसार पर्यटकको अधिक चापले गर्दा हाल काठमाडौं-लुक्ला-काठमाडौं उडानसँगै लुक्लामा संचालित होटल अक्युपेन्सी पनि बढेको छ ।










