काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी फेरि उपसभापति डीपी अर्यालले पाएका छन्। पार्टी सभापति रवि लामिछाने पुनः पक्राउ परेपछि पार्टीले अर्याललाई कार्यवाहक बनाएको हो।
यसअघि पनि लामिछाने पक्राउ पर्दा अर्यालले जिम्मेवारी पाउँदै आएका थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी मागेपछि लामिछाने गत फागुन २८ मा उच्च अदालत गएका थिए।
अदालतको उक्त आदेश लगत्तै राति नै प्रहरीले उनलाई पक्राउ गरिसकेको छ। अदालतको उक्त आदेश आएपछि रास्वपाले राति नै केन्द्रीय सचिवालयको भर्चुअल बैठक गरेको थियो। बैठकले चार बुँदामा निर्णय गरेको पार्टीले जनाएको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति लामिछानेलाई पुनः थुनामा राख्न गरेको निर्णयमा कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै अर्को तहमा न्याय लागि अघि बढ्ने निर्णय पार्टी बैठकले गरेको छ। प्रहरी टोली लामिछानेलाई पक्राउ गर्न घरको बेडरुममै पुगेको भन्दै पार्टीले त्यसको निन्दा गरेको छ।
शनिबारका लागि पूर्वनिर्धारित पार्टीको भरतपुरमा हुने जनयात्रा शुभारम्भ सभालाई सफल पार्ने निर्णय बैठकले गरेको छ। ‘राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने,’ पार्टीको निर्णयमा भनिएको छ।
यस्तै सभापति लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीका लागि कार्यवाहक सभापतिमा उपसभापति डीपी अर्याललाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ।











