काठमाडौं। ग्रीनलाईफ हाइड्रोपावरले प्रभावित क्षेत्रका लागि निष्कासन भएको प्राथमिक शेयरमा ४ प्रतिशतको लागि मात्रै आवदेन परेको छ।
कम्पनीले माघ २२ गतेदेखि दोलखा जिल्लाको उद्योग प्रभावित क्षेत्रमा १८ लाख कित्ता प्राथमिक शेयर निष्कासन गरेकोमा जम्मा ७ सय ६२ आवेदकबाट ७२ हजार १ सय ३ कित्ताको लागि मात्रै आवदेन परेको छ। कम्पनीले आजदेखि बिक्री बन्द गर्ने भएको छ।
कम्पनीले प्रभावित क्षेत्रको शेयर बाँडफाँडपछि तीन वर्षको लागि लकिङ पिरियड तोकेको छ। प्रभावित क्षेत्रका बासिन्दाले तीन वर्षसम्म शेयर बिक्री गर्न पाउने छैनन्।
आइपिओ आवेदनको लागि हाइड्रोपावरको आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु सिंगटी, चरिकोट, जिरी, बैतेश्वर शाखाबाट पाइने छ। न्युनतम २० कित्ता र अधिकतम ९ हजार कित्तासम्मको लागि आवदेन दिन पाइनेछ।
कम्पनीको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ। प्रभावित क्षेत्रका लागि १८ करोड रुपैयाँ र सर्वसाधारणको लागि १८ करोड रुपैयाँ सहित ३८ करोड रुपैयाँ प्राथमिक शेयर निष्काशन गर्नेछ।
सर्वसाधारणतर्फ २० प्रतिशत र संस्थापकतर्फ ८० प्रतिशत सहित जम्मा चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ पुर्याउनेछ।
कम्पनीले दोलखामा ४० मेगावाट क्षमताको 'खानी खोला एक' जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसै वर्षको चैतदेखि सञ्चालनमा आउने भनिएको आयोजनाको कुल लागत ६ अर्ब ३९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। प्रतिमेगावाट लागत १५ करोड ९८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुन ८ वर्ष लाग्नेछ। केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार औषत आधार जनाउने 'केयर रेटिङ आइपिओ ग्रेड चार' प्राप्त गरेको छ।










